निर्देशन र अभिनय फरक-फरक विधा भए पनि दुवैमा उपस्थिति जनाउने नेपाली फिल्ममा धेरै पात्र छन् । यसमध्येमा पर्छन्, बरुण अधिकारी । उनको परिचय निर्देशकको रुपमा बनेको छ । ‘प्रियसी’ र ‘ब्याड ब्वाई’ गरी दुई फिल्मको निर्देशन गरिसकेका उनको अभिनय मोह भने म्यूजिक भिडियोमा देखिँदै आएको छ । उनले आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।
यसबीच, बरुण अभिनीत नयाँ गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । प्रताप दासको गायन रहेको गीतमा सरोज पोखरेलको शब्द रचना र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा बरुणको अपोजिटमा ‘सकम्बरी’ गीतकी मोडल कुशुम शर्माले अभिनय गरेकी छन् । उनी चाँडै फिल्म ‘सञ्जीवनी’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्ने तयारीमा छिन् ।
साजन कट्टेलद्वारा निर्देशित गीतको भिडियोमा दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन, सरोज पोखरेलको कन्सेप्ट र पुनम चौधरीको मेकअप छ । गीतमा पछिल्लो पुस्ताको प्रेम र विछोडको कथालाई बुनिएको बरुण बताउँछन् । उनी कुशुमसँग आफ्नो केमेस्ट्री दर्शकले रुचाउनेमा पनि विश्वस्त छन् । बरुणले चाँडै नयाँ फिल्म निर्देशनको तयारी भैरहेको समेत बताएका छन् ।