सुपरहिट फिल्म ‘कबड्डी २’को स्टारकास्ट अब फिल्म ‘रिमै’मा देखिने भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ अनुबन्ध भैसकेको फिल्ममा अब सौगात मल्लको प्रवेश भएको छ । उनीसँग यसै साता निर्माण टिमले कागजी सम्झौता गरेको हो । उनको प्रवेश भएसँगै फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । यो फिल्मलाई खिल बहादुर गुरुङ्गले निर्देशन गर्नेछन् ।
गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मसको प्रस्तुति रहेको फिल्ममा वीरबल घलेको पनि अभिनय रहनेछ । ‘जारी’ निर्देशक तथा कवि उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्ममा निर्देशक गुरुङ्ग र अभिनेता घले स्वयंको कथा तथा संवाद छ । आगामी फागुन महिनाबाट छायांकन सुरु हुन लागेको फिल्मको यतिबेला प्रि-प्रोडक्सनको काम भैरहेको निर्देशक गुरुङ्गले बताएका छन् ।
फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ्ग (युके), प्रकाश गुरुङ्ग (युके), जित यात्री गुरुङ्ग (नर्वे) र सचि कुमारी घले छन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग र विजय लामा सह-निर्माता हुन् । ‘रिमै’ले दर्शकलाई ‘कबड्डी’ जोडीको ‘केमेस्ट्री’ ताजा गराउने देखिन्छ । यसमा दयाहाङ र रिश्माबीचको नोकझोंक र ‘कबड्डी २’मा दयाहाङ र सौगातबीचको घम्साघम्सी दर्शकलाई रोचक लागेको थियो ।