अघिल्लो वर्ष अभिनेत्री वर्षा सिवाकोटीको जीवनमा ठूलो उतार-चढाव आयो । लगनगाँठो कसेको ९ महिनामा उनले कानुनी रुपमा सम्बन्ध टुंग्याएकी थिइन् । यो घटनाले उनलाई नराम्रोसँग विथोलेको थियो । जसले गर्दा उनी केही महिना फिल्म र मिडियाबाट समेत टाढा रहिन् । अब भने उनी फिल्ममा आफ्नो सक्रियता बढाउँदैछिन् । यतिबेला उनको पखाई फिल्म ‘काजी’लाई लिएर छ ।
लक्ष्मण रिजालको निर्देशन तथा निर्माण रहने फिल्ममा वर्षाको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिनेछ । उनीहरुले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् । ‘काजी’कै लागि सम्झौता गरिसकेको फिल्म ‘कामिनो’ समेत छाडेकी वर्षा तत्काल अरु कुनै फिल्म सम्झौता गर्ने योजनामा छैनन् । यसले पनि ‘काजी’प्रति उनको लगाव देखाउँछ । सम्भवतः फागुनबाट फिल्म छायांकनमा जानेछ ।
डिभोर्सपछि वर्षाले छोटो भूमिकामा फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’मा काम गरेकी थिइन् । त्यसयता केही म्यूजिक भिडियो र फिल्मका गीतमा नृत्य गरेकी छन् । यस वर्ष उनको मुख्य भूमिका रहेको दुई फिल्म ‘ए साथी सुन’ र ‘परदेशी २’ पनि प्रदर्शन भए । यसमध्ये ‘परदेशी २’ सफल ठहरियो । ७ वर्षपछि उनले हिट फिल्म पाएकी हुन् । केमियोमै भए पनि ‘भष्मे डन’ पनि सफल भयो ।
वर्षाले सोलो हिरोइनको रुपमा भने हिट फिल्म पाइसकेकी छैनन् । न डेब्यू फिल्म ‘नाईं नभन्नू ल २’मा उनी एकल हिरोइन थिइन् न ‘परदेशी २’मा । जसले गर्दा ‘काजी’ उनका लागि विशेष छ । किनकि, यसमा उनी एक्ली अभिनेत्री हुन् । यो फिल्म व्यावसायिक रुपमा सफल भएको खण्डमा उनको करिअरले नयाँ आकार लिनसक्छ । यसैले पनि यो फिल्मलाई उनी लिएर गम्भीर देखिन्छिन् ।