फिल्ममा आफ्नो अब्बल कमिक टाइमिङका लागि चिनिएका अभिनेता श्रेयस तलपडेका लागि डिसेम्बर महिना मुश्किलपूर्ण रह्यो । फिल्म ‘वेलकम टू द जंगल’को छायांकनको क्रममा उनलाई हार्ट अट्याक भएको थियो । १० मिनेट जति उनको धड्कन रोकिएको थियो । एन्जियोप्लास्टीपछि अहिले उनको स्वास्थ्य सुधारन्मुख छ । फिल्मको छायांकनमा जोडिन भने उनलाई केही समय लाग्नेछ ।
श्रेयसले बम्बे टाइम्ससँगको कुराकानीमा आफूले दोस्रो जन्म पाएको बताएका छन् । उनी भन्छन्, ‘म लाइफमा पहिला कहिल्यै पनि अस्पताल भर्ना भएको थिइनँ । यद्यपि, मेरो परिवारमा केहीलाई हार्ट अट्याक भैसकेको छ । अब मलाई के महसुस भएको छ भने ज्यान छ त संसार छ । मेरो १० मिनेट धड्कन बन्द भएको थियो । ‘क्लिनिकली’ म मरिसकेको थिएँ । मैले दोस्रो जन्म पाएको छु ।’
श्रेयसले आफूले २० वर्षको उमेरदेखि निरन्तर रुपमा काम गरिरहेको बताउँछन् । अहिले ४७ वर्षका उनी केही समययता फिल्मको छायांकनमा व्यस्त थिए । ‘म धुुम्रपान र ड्रिंक गर्दिनँ । म हेल्दी लाइफ अपनाउँछु । यो गर्दा त ममाथि यस्तो हुनसक्छ भने धुम्रपान र ड्रिंक गर्नेलाई के होला ? कोभिडपछि धेरैलाई हार्ट अट्याक भएको सुनेको छु । यसैले हेल्थमा विशेष ध्यान दिऔं,’ उनी भन्छन् ।
एकातिर उनको ‘वेलकम टू द जंगल’ छायांकनमा छ भने अर्कोतिर उनले भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको चरित्र निभाएको फिल्म ‘इमर्जेन्सी’ प्रदर्शनमा आउँदैछ । जुन फिल्म भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको कथामाथि बनेको हो । ५० बढी भारतीय फिल्ममा काम गरिसकेका श्रेयसले फिल्म ‘पुष्पा’मा अभिनेता अल्लू अर्जुनको चरित्रका लागि हिन्दी डब गरेका थिए ।