अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहबीचको सम्बन्ध खुल्ला किताबझैँ छ । विगत ७/८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु सामाजिक सञ्जालदेखि मिडियासम्म खुलेरै एकअर्काप्रति प्रेम व्यक्त गरिरहेका हुन्छन् । २०७४ सालमा उनीहरुले कानुनी विवाह गरेको चर्चा समेत चलेको थियो । तर, दुवैले त्यसलाई अफवाह भनेका थिए । अब भने यो जोडी विवाहको तयारीमा देखिएको छ ।
अनुले यस वर्ष अर्थात् २०२४ मा विवाह गर्ने योजना रहेको बताएकी छन् । उनी भन्छिन्, ‘हामी २०२४ मा विवाह गर्छौं । हामी दुवैले २०२४ मा विवाह गर्ने भनेर एकअर्कालाई वाचा गरेका छौं । काम व्यस्तताले गर्दा विवाहको योजना बन्न सकेको थिएन । विवाहको मिति तय त भइसकेको छैन तर यस वर्ष हामी विवाह गर्छौं ।’ अनुले आफ्नो गर्धनमा सविनको नामको ट्याटु समेत बनाएकी छन् ।
२०६८ सालमा होलीको फोटोसुटको क्रममा सविन र अनुबीच पहिलोपटक चिनजान भएको थियो । यसपछि मित्रता हुँदै उनीहरुको सम्बन्ध प्रेममा रुपान्तरण भयो । यो जोडीले ‘लक्ष्य’ र ‘आधी बाटो’ गरी दुईवटा फिल्ममा एकसाथ अभिनय समेत गरेका छन् । केही म्यूजिक भिडियोमा पनि उनीहरुबीच सहकार्य भएको छ । कोरोना महामारीयता उनीहरुबीचको नोकझोंकपूर्ण ‘भ्लग’ चर्चामा छ ।
म्यूजिक भिडियोबाहेक अनु विगत ५/६ वर्षयता फिल्ममा देखिएकी छैनन् । सविनले भने पछिल्लो पटक फिल्म ‘म’मा काम गरेका थिए । गत वर्ष उनको मुख्य भूमिका रहने गरी फिल्म ‘सिड्नी’को घोषणा भएको थियो । तर, यो फिल्म घोषणाभन्दा अगाडि बढ्न सकेन । उनी आफैंले फिल्म ‘बाघ चाल’ बनाउने तयारी पनि गरेका थिए । अब उनले नयाँ नाममा फिल्म बनाउन लागेको चर्चा छ ।