यस वर्षको तिहार छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’को सफलतापछि अभिनेत्री स्वस्तिमा खड्का नयाँ फिल्मको तयारीमा जुटेकी छन् । ‘बेहुली फ्रम मेघौली’ शीर्षकको फिल्ममा उनले मुख्य भूमिकामा काम गर्न लागेका हुन् । लेखकको रुपमा स्थापित आकाश बराल र सजन काफ्लेको संयुक्त निर्देशन रहने फिल्मको छायांकन आगामी चैतबाट सुरु गर्ने तयारी गरिएको छ ।
यतिबेला निर्देशक र कलाकारको टिम लोकेशन हन्टिङका लागि चितवनको मेघौली गाउँमा छ । फिल्मको कथाको उठान मेघौली गाउँबाट हुने निर्देशक बरालले जानकारी दिए । उनले ‘बेहुली फ्रम मेघौली’लाई वर्किङ टाइटल राखेर काम अगाडि बढाइएको भए पनि पछि शीर्षक परिवर्तन हुनसक्ने बताएका छन् । यो फिल्ममा निर्देशक निश्चल बस्नेतको पनि अभिनय रहने सम्भावना उच्च छ ।
निश्चलको ब्यानर ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्म्सको संयुक्त भेन्चरमा बन्न लागेको फिल्मलाई आकाश र सजन स्वयंले लेखेका हुन् । दुवैले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । आकाशले ‘स्पर्श’ नामक पुस्तक समेत बजारमा ल्याइसकेका छन्, जुन युवापुस्तामा लोकप्रिय मानिन्छ । उनले ‘दिमाग खराब’सहित आधा दर्जनभन्दा बढी नेपाली फिल्मको स्क्रिप्ट लेखिसकेका छन् ।
स्वस्तिमा यस वर्ष ‘बेहुली फ्रम मेघौली’मा मात्र काम गर्ने योजनामा रहेको बताइन्छ । उनले केही समयअघि आफैंले फिल्म निर्माण गर्न लागेको बताएकी थिइन् । उनी निर्माता रहने फिल्म यही हो । शीर्षकले फिल्ममा उनी बेहुलीको भूमिकामा हुनसक्ने संकेत गर्छ । उनी फिल्मलाई लिएर उत्साहित देखिएकी छन् । निर्देशक बस्नेत भने फिल्ममा मुख्य या त केमियो भूमिकामा देखिन सक्नेछन् ।