फिल्मको चर्चाका लागि गीतको लोकप्रियता अनिवार्यझैँ मानिन्छ । गीत चल्दा फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वासमा मेकरमा छ । यसैले कमर्शियल फिल्मका गीतको अडियो र भिडियोमा ठूलो खर्च गरिन्छ । सेट निर्माणदेखि कोरससम्म सम्झौता नगरी गीत खिच्दा भिडियोमा मात्र १५ लाख बढी खर्च हुने गरेको छ । तर, धेरै गीतमा भएको लगानी बालुवामा पानी खन्याएझैँ भैरहेको छ ।
आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘उपहार’को गीतमा पनि ठूलो खर्च गरिएको छ । फिल्ममा तीनवटा गीत छन्, जसमा निर्माताले ६० लाख खर्च गरेको बताइन्छ । तर, खर्च र स्टारकास्टअनुसार फिल्मको गीत अपेक्षाकृत चल्न सकेको देखिएको छैन । फिल्मको पहिलो गीत ‘वाह् वाह् वाह्’ ठीकठाक चल्यो । दुई महिनाको अवधिमा यो गीतलाई युट्युबमा ४४ लाख भ्यूज छ ।
एक हप्ताअघि फिल्मको दोस्रो गीत ‘मुटुको चार आना’ सार्वजनिक गरियो । फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, किरण केसी, राजाराज पौडेल आदिको नृत्य छ । भिडियो हेर्दा खर्चमा सम्झौता गरिएको देखिन्न । तर, गीतलाई भने युट्युबमै चल्न सकस देखिएको छ । एक हप्तामा गीतलाई साढे ७ लाख भ्यूज छ । नाम चलेका कलाकारहरुको लाइनअपको अगाडि यो भ्यूज न्यून हो ।
गीतप्रति दर्शकको आकर्षण दुई कारणले हुने गर्छ । पहिलो, कलाकारको लाइनअप । नाम चलेका कलाकार हुँदा गीतप्रति दर्शक झुम्मिन्छन् । त्यसले पनि गीतलाई उठाउन सघाउँछ । दोस्रो, अडियो । गीत चल्न अडियो नै सशक्त हुनुपर्छ भनिन्छ । ‘उपहार’को ‘मुटुको चार आना’ गीत अडियोमै चुकेको छ । कोरियोग्राफी पनि परम्परागत शैलीको हुँदा कलाकारहरुको नृत्य फिक्का देखिन्छ ।
कुनै समय रेखालाई गीत छनोटमा राम्रो ज्ञान भएको अभिनेत्री भनिन्थ्यो । उनले निर्माण र अभिनय गरेका धेरै फिल्मका गीत चर्चित छन् । ‘उपहार’का लागि छनोट गरिएका गीतको हकमा भने रेखा चुकेकी देखिन्छिन् । अब फिल्मको तेस्रो गीत कस्तो आउँछ, त्यो प्रतिक्षाको विषय बनेको छ । गीतले फिल्मको अपेक्षाकृत माहोल बनाउन नसकेको भए पनि ‘स्टारकास्ट’का कारण चर्चा राम्रो छ ।