आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रङ्गेली’को थप दुईवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एउटामा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापालाई क्रोधित मुद्रामा आमने-सामने बनाइएको छ । उनीहरु ग्याङस्टार लुक्समा प्रस्तुत छन् । अर्को पोस्टरमा अभिनेत्री मिरुना मगरसँग दयाहाङको प्रेम देखाउन खोजिएको छ । दुवै निराश मुद्रामा चित्रित छन् ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको पनि अभिनय छ । ग्याङस्टार कथामा बनेको फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् । युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता रहेको ‘रङ्गेली’का एशोसियट निर्माता विवेक खड्का (योलो) हुन् ।
सुशन प्रजापतिको छायांकन रहेको फिल्मका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ । जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले फिल्म रिलिज गर्दैछन् । अमेरिकामा कलाकारसहित फिल्मको प्रिमियर आयोजना गरिँदैछ ।