अहिलेका ‘हटकेक जोडी’ दयाहाङ राई र मिरुना मगरबीच अब फिल्म ‘गाउँ नै रमाइलो’मा पनि सहकार्य हुने भएको छ । दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्मका लागि यसै साता मिरुनासँग सम्झौता गरिएको छ । दयाहाङ भने यसअघि नै अनुबन्धित भइसकेका छन् । फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि मुख्य भूमिका रहनेछ । बुद्धि तामाङ पनि फिल्ममा जोडिएका छन् ।
प्राप्त जानकारी अनुसार, फिल्ममा तीनजना नायक रहनेछन् । अब तेस्रो नायक पनि ‘स्टार’ नै भित्राउने तयारीमा निर्माण टिम छ । मिरुना भने कुन नायकको जोडीको रुपमा प्रस्तुत हुनेछिन्, त्यो खुलेको छैन । ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाको निर्माण रहने फिल्ममा विकास सुवेदीको लेखन छ । अघिल्लो वर्ष प्रदर्शनमा आएको ‘प्रकाश’मा विकासको लेखनको प्रशंसा भएको थियो ।
निर्देशक राउतले आगामी माघ पहिलो सातादेखि फिल्म ‘पूजार सार्की’को छायांकन सुरु गर्दैछन् । यो फिल्म प्रदर्शन भएपछि मात्र उनले ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्ने जनाइएको छ । फिल्मलाई आउँदो वर्षको दशैंको फूलपातीमा सार्वजनिक प्रदर्शन गरिँदैछ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म गाउँघरको कथामा निर्माण हुने शीर्षकले नै प्रष्ट पार्छ ।
दयाहाङ र मिरुनाबीच ‘जारी’देखि सहकार्य टुटेको छैन । उनीहरुले एकसाथ काम गरेका फिल्म सफल पनि भैरहेका छन् । यसैले मेकरहरुको रोजाईमा यो जोडी परिरहेको देखिन्छ । उनीहरु चाँडै ‘दुःखी आत्मा’, ‘घरज्वाईं’ फिल्ममा पनि काम गर्दैछन् । आगामी फागुन २५ गते यो जोडीको फिल्म ‘रंगेली’ प्रदर्शन हुँदैछ । यस्तो लाग्दैछ, अहिले उनीहरु नेपाली फिल्मका निर्विकल्प ‘जोडी’ हुन् ।