अभिनेता तथा गायक यश कुमारले २०७८ सालमा आफ्नो निर्देशन रहने नयाँ फिल्म ‘ए मन सुटुक्क भन्’मा अभिनेता पल शाहलाई मुख्य भूमिकामा अनुबन्धित गरेका थिए । त्यसको केही समयपछि पल एक घटनाका कारण जेल जानु पर्यो । तर पनि यश उनकै पखाईमा थिए । एकपटक तनहुँ कारागारमा भएको भेटमा पलले यशलाई बाहिर आएपछि फिल्ममा काम गर्ने वचन दिएका थिए ।
तर, एक वर्षको जेल जीवन काटेर रिहा भएपछि पलले काम गर्ने शैली बदलेका छन् । उनले सम्झौता गरेका पुराना फिल्ममा काम गर्ने इच्छा देखाएका छैनन् । बरु धमाधम नयाँ फिल्म सम्झौता गरिरहेका छन् । पलले अरु फिल्मलाई समय दिन थालेपछि यशले पनि ‘ए मन सुटुक्क भन्’मा उनको ‘च्याप्टर क्लोज’ गरेका छन् । उनले फिल्ममा अब पल नहुने निश्चित भइसकेको बताएका छन् ।
एक युट्युब अन्तर्वार्तामा यशले भनेका छन्, ‘पलजी अब फिल्ममा हुनुहुन्न भन्ने कुरा स्पष्ट भइसकेको छ । पलजीले बाहिर आएपछि पहिलो फिल्म यही नै गर्छु भनेता पनि केही प्राविधिक कारणले गर्दा मिलेन । उहाँले पहिला आफ्नै ब्यानरको फिल्म गर्छु अनि अरु फिल्मलाई समय दिन्छु भनेपछि हामीले जबर्जस्ती गर्न पनि मिलेन । अनि निर्माताबाट उहाँलाई पर्खेर नबस्ने भन्ने कुरा आएको छ ।’
त्यसो त यश तत्काल फिल्म बनाउने योजनामा पनि छैनन् । ‘अहिले म गीतलाई नै प्राथमिकता दिइरहेको छु,’ उनी भन्छन्, ‘फिल्म भनेको त एक वर्ष कुर्नुपर्छ । फिल्ममा रिक्स पनि बढी हुन्छ । एउटै मितिमा धेरै फिल्म जुधिदिन्छन् । त्यसैले मलाई निर्माता दुःखी बनाउन मन छैन । बजार व्यवस्थापन सुध्रिएपछि फिल्म बनाउँछु ।’ यशले आफूसँग अहिले चारवटा फिल्म रहेको बताएका छन् ।