मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चित्रा’को क्यारेक्टर र ममा केही चीज मिल्दैन : प्रमोद

फिल्मीखबर, काठमाडौं, 2024/01/08

pramod agrahari

 

अभिनयमा पारंगत मानिएका अभिनेता प्रमोद अग्रहरी अक्सर फिल्ममा नकारात्मक चरित्रमा प्रस्तुत हुने गरेका छन् । त्यसमा उनी रुचाइएका पनि छन् । यही पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चित्रा’मा पनि उनले नकारात्मक चरित्र निर्वाह गरेका छन् । ट्रेलर हेर्दा उनको चरित्र क्रूर देखिन्छ । तर, फिल्मको क्यारेक्टर र आफूमा कुनै चीज पनि नमिल्ने उनको बुझाई छ ।

उनी भन्छन्, ‘फिल्ममा म क्यारेक्टरमा हुन्छु । रियलमा म प्रमोद अग्रहरी हो । ‘चित्रा’को क्यारेक्टर र ममा केही चीज पनि मिल्दैन । मलाई रिसाउन र गाली गर्न आउँदैन । मलाई रिसाउन क्यामेराको अगाडि मात्र आउँछ । मान्छे मार्न पनि क्यामेरा अगाडि आउँछ । तर, प्रमोदमा त्यस्तो केही चीज छैन ।’ यद्यपि, दर्शकले फिल्मको क्यारेक्टरको हिसाबले ‘इमेज’ बनाउनुलाई उनी राम्रो मान्छिन् ।

त्यसो त उनलाई नकारात्मक चरित्रमा मात्र सीमित भएको आरोप लाग्ने गरेको छ । तर, यसमा उनको आफ्नै व्याख्या छ । फिल्ममा नकारात्मक चरित्र भए पनि उसको ठाउँमा ऊ सही हुने प्रमोद तर्क गर्छन् । उनी भन्छन्, ‘मलाई नकारात्मक चरित्र बढी गरेको भन्ने गरिन्छ । तर, त्यो चरित्रले जे गर्दैछ, त्यो उसका लागि सही कुरा होला नि त । उसले जुन बाटो सही देख्यो, त्यही बाटो अपनायो ।’

‘चित्रा’मा आफ्नो क्यारेक्टर नकारात्मक देखिए पनि आफ्नो र परिवारको सुरक्षाका लागि ऊ सही रहेको उनी बताउँछन् । ‘फिल्ममा एउटा सानो घटनाले एउटा मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने कुरा देखाउन खोजिएको छ,’ उनले अगाडि भने, ‘हेर्दा त्यो क्यारेक्टर नकारात्मक लाग्छ । तर, उसले आफ्नो र परिवारको सुरक्षाका लागि गलत बाटो अपनाउँछ भने त्यो उसको लागि त ठीक हो नि ।’

यतिबेला प्रमोदलाई राम्रै दौडधुप छ । एकातिर ‘चित्रा’ प्रदर्शनको संघारमा छ भने अर्कोतिर उनको कमब्याक नाटक ‘पगला घोडा’ मञ्चन भैरहेको छ । यसैले पुष महिना उनका लागि विशेष देखिएको छ । ‘चित्रा’ले करिअरमा एउटा इट्टा थप्नेमा उनी विश्वस्त छन् । उनको पाइपलाइनको कुरा गर्दा ‘रक्तबीज’, ‘रावायण’ आदि फिल्म छन् । आगामी फागुनमा उनको ‘अगस्त्य’ पनि प्रदर्शन हुँदैछ ।