अभिनेता दयाहाङ राईलाई यतिबेला भ्याइनभ्याइ छ । एकातिर छायांकनको निकै चटारो छ भने अर्कोतिर रिलिज पर्खिएर बसेका फिल्मको ताँती नै छ । अहिले अवस्था यस्तो आएको छ कि एकै मितिमा उनका आफ्नै फिल्म बक्स अफिसमा भिडिरहेका छन् । अब छायांकन समेत जुध्न थालेको छ । अहिले उनका दुईवटा फिल्म ‘मनसरा’ र ‘डिग्री माइला’को एकसाथ छायांकन भैरहेको छ ।
सबैभन्दा पहिला दयाहाङले ‘डिग्री माइला’को छायांकन भ्याउनेछन् । यो फिल्मको ‘फर्स्ट सेड्युल’ पूरा भैसकेकाले अब धेरै दिनको छायांकन बाँकी छैन । सोमबारदेखि ओखलढुंगाको रुम्जाटारमा फिल्मको छायांकन सुरु गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङको जोडी अभिनेत्री आँचल शर्मासँग बाँधिएको छ । आगामी नयाँ वर्षमा फिल्मलाई रिलिज गर्ने तयारी छ ।
‘डिग्री माइला’को छायांकन सकाएपछि दयाहाङले ‘मनसरा’लाई समय निकाल्नेछन् । यो ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको फिल्म हो । फिल्ममा दयाहाङका साथै मिरुना मगर, मेनुका प्रधान, प्रविण खतिवडा पनि मुख्य भूमिकामा देखिँदैछन् । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको आइतबार शुभमुहूर्त गरेपछि सोमबारदेखि ललितपुरको नख्खुबाट छायांकन थालिएको हो ।
‘मनसरा’को छायांकनपछि दयाहाङले फिल्म ‘घरज्वाइँ’मा काम गर्ने जनाइएको छ । यसमा उनको जोडी मिरुना मगरसँग बाँधिनेछ । योसँगै उनको पाइपलाइनमा ‘गाउँ नै रमाइलो’, ‘दुःखी आत्मा’, ‘नाङ्गो गाउँ २’, ‘लाहुरे एण्ड दाउरे’, ‘वरिष्ठ बलराम’, ‘भूठान’ आदि फिल्महरु छन् । यसैगरी, उनका ‘गाउँ आएको बाटो’, ‘रंगेली’, ‘हात्तीछाप’, ‘दयारानी’ आदि फिल्म रिलिजको पखाईमा रहेका छन् ।