सफल फिल्मको सिक्वेल घोषणा गरिनु विश्वव्यापी नै सामान्य भइरहेको छ । तर, नेपालमा फिल्मको व्यावसायिक नतिजा नै नपर्खी त्यसको सिक्वेल घोषणा गर्ने परिपाटी छ । यो ट्रेन्डलाई फिल्म ‘चित्रा’ले पनि पछ्याएको छ । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको अन्तिममा सिक्वेल घोषणा गरिएको छ । सोमबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा यो रहस्य खुलेको हो ।
सिक्वेलका लागि कथा बाँकी राख्दै फिल्मको अन्त्यमा ‘चित्रा २’ भनेर उल्लेख गरिएको छ । फिल्मलाई जसरी टुंग्याइएको छ, त्यसले सिक्वेलमा केही कलाकारलाई निरन्तरता दिइने संकेत गर्छ । फिल्मको मुख्य भूमिकामा रहेका सन्तोष अधिकारी, प्रमोद अग्रहरी, मेनुका प्रधान र सिम्रन खड्का सिक्वेलमा दोहोरिने देखिन्छ । र, सिक्वेललाई घनश्याम लामिछानेले नै निर्देशन गर्ने जनाइएको छ ।
बाबु-छोरीको सम्बन्धको कथामा आधारित रहेको फिल्मलाई प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेको छ । विशेषगरी सिम्रन खड्काको अभिनयको फिल्मकर्मीहरुले प्रशंसा गरे । छोरीको भूमिकामा उनको अभिनय प्रशंसनीय छ । त्यसो त यसअघि फिल्म ‘प्रेमगञ्ज’मा पनि उनको अभिनयलाई रुचाइएको थियो । पहिलो फिल्ममा सन्तोष अधिकारीले गरेको मिहिनेतलाई पनि धेरैले धाप मारेका छन् ।
आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेको यो फिल्ममा शुभेच्छा खड्का, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, आयुशी ढकाल, विनोद कुमार पौड्याल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।