हलिउड अभिनेता ब्रुस डर्नले नेपाली फिल्म ‘भूठान’मा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । अमेरिकाको प्रतिष्ठित अनलाइन पत्रिका भेराइटीले निर्देशक विनोद पौडेलको भनाई उदृत गर्दै फिल्ममा डर्नको प्रवेश भएको उल्लेख गरेको छ । उनलाई निर्देशक पौडेलले एजेन्सीमार्फत् स्क्रिप्ट पठाएका थिए । स्क्रिप्ट मन परेपछि उनले फिल्ममा काम गर्न तयार रहेको जानकारी गराएका हुन् ।
सन् १९७९ मा डर्न फिल्म ‘कमिङ होम’बाट ओस्कार अवार्डको मनोनयनमा परेका थिए भने फिल्म ‘नेब्रास्का’का लागि उनले सन् २०१३ मा ‘कान्स फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । ब्रिटिश एकेडेमी फिल्म अवार्ड, जिनी पुरस्कार र गोल्डेन ग्लोब्स अवार्डमा समेत धेरैपटक मनोनयनमा परेका उनले ५० बढी फिल्म तथा टेलिभिजन सिरिजमा अभिनय गरेका छन् ।
अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको फिल्ममा यसअघि हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन लगायत अनुबन्ध भैसकेका छन् । सन् २०१९ मा भुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा छानिएको ‘भूठान’मा सुसन प्रजापतिको छायांकन रहनेछ । फिल्म नेपाली र अंग्रेजी भाषामा बन्नेछ ।
एल। एन अधिकारी र कौशिला खनाल कार्यकारी निर्माता रहेको फिल्ममा दीपक गजमेर लाईन प्रोड्युसरमा छन् भने सन् २०१७ मा हलिउडको ‘ला ला ल्याण्ड’ फिल्मबाट अस्कर जितेका स्टार झाउ पनि एसोशियट निर्मातामा छन् । शैलेश मैनाली, दिपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीव भार श्रेष्ठ र नवराज पराजुलीको भने सह-निर्माण रहनेछ ।