अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा कलाकारको लाइनअप बलियो बन्ने देखिएको छ । आगामी वर्षको जेठदेखि छायांकन सुरु गर्न लागिएको फिल्ममा प्रदीपपछि अभिनेत्री आना शर्मा भित्रिएकी छन् । उनीसँग निर्माण टिमले यसै साता कागजी सम्झौता गरेको स्रोतले जानकारी गराएको छ । अब पहिलोपटक प्रदीप र आना फिल्ममा जोडीको रुपमा प्रस्तुत हुनेछन् ।
फिल्ममा अभिनेता राजबल्लभ कोइराला पनि निश्चित भैसकेको स्रोतको दाबी छ । अमेरिकामा बस्दै आएका उनलाई निर्माण टिमले इमेलमार्फत् स्क्रिप्ट पठाएको थियो । स्क्रिप्ट चित्त बुझेपछि उनले काम गर्न मञ्जुरी जनाएको बताइएको छ । यसअघि प्रदीपले काम गर्ने भनिएको फिल्म ‘कामिनो’मा पनि राजबल्लभ भित्रिएका थिए । तर, छायांकनमा ढिलाई हुँदा उनी सहमतिमै अलगिएका थिए ।
फिल्ममा दुईजना अभिनेत्री रहनेछन् । अर्को अभिनेत्रीमा निर्माण टिमले स्वस्तिमा खड्कालाई प्रस्ताव राखेको जनाइएको छ । उनी पनि काम गर्नका लागि सकारात्मक देखिएको जानकारी प्राप्त छ । त्यस्तै, एक विशेष भूमिकामा अभिनेता राजेश हमाललाई अफर गरिएको छ । फिल्ममा अभिनेता सौगात मल्ल पनि भित्रिन सक्ने चर्चा थियो । तर, उनले व्यस्तताका कारण नभ्याउने भएका छन् ।
अर्धृत फिल्मसको ब्यानरमा बन्न लागेको फिल्मलाई राजन भुषालले निर्देशन गर्नेछन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । सन् २०२५ मा रिलिजको तयारी गरिएको फिल्मलाई ‘पण्डित बाजेको लौरी’ निर्माता थमन कुमार भण्डारीले निर्माण गर्नेछन् । ‘एक्टर’भन्दा अगाडि प्रदीपले आगामी माघमा फिल्म ‘पूजार सार्की’ र त्यसपछि बहुभाषिक फिल्म ‘ऐरी’मा काम गर्नेछन् ।