राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘ईश्वर’मा अभिनेता पृथ्वीराज प्रसाईं मुख्य भूमिकामा अनुबन्धित भएका छन् । ‘मंगलम’, ‘वीराङ्गना’, ‘डोली’ आदि फिल्ममा काम गरिसकेका उनले ५ वर्षपछि कमब्याक गर्न लागेका हुन् । फिल्ममा अभिनेता सुनिल थापा पनि अनुबन्ध भइसकेका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा बन्न लागेको फिल्म आगामी माघ २८ गतेबाट छायांकनमा जानेछ ।
शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला, गीता अधिकारी लगायतको पनि अभिनय रहने फिल्ममा शंकर गिरी र हरिबहादुर थापा निर्मातामा छन् । भोजराज देवकोटाको पटकथा एवं संवाद र राजु गिरी स्वयंको कथा रहेको फिल्म दिव्या कंगना फिल्मस्को ब्यानरमा बन्न लागेको हो । ‘ईश्वर’ समसामयिक विषयमाथि आधारित भएर निर्माण हुने निर्देशक गिरीले बताएका छन् ।
फिल्ममा रामेश्वर हुँमागाईको छायांकन, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ । निर्देशक गिरीको नयाँ फिल्म ‘दुई नम्बरी’ प्रदर्शनको तयारीमा छ भने उनले ‘लाइटर’ र ‘मेयर साहेब’ गरी दुईवटा फिल्म पनि निर्देशन गर्दैछन् । उनले निरन्तर रुपमा सिरियल पनि निर्देशन गर्दै आएका छन् ।