फिल्म निर्देशनमा कलाकारहरुको आकर्षण बढ्दो छ । अभिनयको अनुभवलाई सर्टिफिकेट मानेर कलाकारहरु श्रृंखलाबद्ध रुपमा निर्देशनमा आइरहेका छन् । नीर शाह, रमेश बुढाथोकी, भुवन केसी, रेखा थापा, निखिल उप्रेती, विराज भट्ट आदि कलाकारहरुले निर्देशन फाँटमा पनि आफ्नो उपस्थिति जनाइसकेका छन् । अब फिल्म निर्देशन गर्ने पालो अभिनेता रमित ढुंगानाको आएको छ ।
उनले एसिड सर्भाइभर मुस्कान खातुनको जीवनकथामा बन्न लागेको फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्मको नाम ‘नमेटिएको घाउ’ राखिएको छ । यसअघि फिल्मको शीर्षक ‘मुस्कान’ तय गरिएको थियो । अभिनेता ढुंगाना स्वयंको निर्माण रहने फिल्ममा मुस्कान आफैंले आफ्नो चरित्र निर्वाह गर्नेछिन् । एसिड आक्रामणपछिको दृश्यमा उनको अभिनय रहने जनाइएको छ ।
एसिड आक्रामण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । बुधबारबाट वर्कसप सुरु भएको फिल्मको आगामी माघ १५ गतेबाट छायांकन सुरु हुनेछ । फिल्मको शुभमुहूर्त प्रधानमन्त्री पुष्पकमल दाहालबाट गर्ने योजनामा रमित छन् ।
मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगञ्जको रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ । फिल्मका लागि उनले केही समयदेखि अभिनय सिकिरहेकी छन् । उनको फिल्म निर्माणका लागि वीरगञ्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग समेत गरेको छ ।