मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई दशकपछि फिल्ममा फर्किँदै पूजा चन्द

फिल्मीखबर, काठमाडौं, 2024/01/11

POOJA CHAND

 

कुनै समयकी सफल अभिनेत्री पूजा चन्द विगत १९ वर्षदेखि अमेरिकामा छिन् । अमेरिका गएसँगै उनको फिल्मसँग पनि दूरी बढ्यो । पछिल्लोपटक उनी सन् २००४ मा आएको फिल्म ‘मनको टुक्रा’मा देखिएकी थिइन् । अब २० वर्षपछि उनी फिल्ममा पुनरागमन गर्दैछिन् । निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भूठान’ (द वर्ल्डस् ह्याप्पिएस्ट म्यान)बाट उनी अभिनयमा फर्किन लागेकी हुन् ।

यतिबेला उनी अमेरिकास्थित ओहायोको एक्रोन शहरमा फिल्मका लागि वर्कसप गरिरहेकी छन् । पहिलोपटक वर्कसपको अनुभव लिएकी पूजाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मैले फिल्मी करिअरमा कहिल्यै वर्कसप भन्ने गरेको थिइनँ । यहाँ मैले यो नयाँ कुरा सिक्ने मौका पाएँ । यो मेरो लागि एकदमै फरक अनुभव हो ।’ यसै सातादेखि ‘भूठान’को अमेरिकामा छायांकन सुरु भैसकेको छ ।

अब अभिनयलाई निरन्तरता दिने उनको योजना छ । ‘म निरन्तर फिल्म गर्नेछु । अरु एक/दुईवटा फिल्ममा कुरा पनि भैरहेको छ । जुलाईमा म नेपाल जाँदैछु । स्क्रिप्ट र रोल राम्रो भयो भने नेपाल बसाईंको क्रममा फिल्म गर्नेछु,’ उनले भनेकी छन् । बाल्टिमोरमा बस्ने गरेकी पूजाले रेकर्डिङ स्टुडियो चलाउँदै आएकी छन् भने कन्सर्टका लागि लाइट र साउन्ड सिस्टम पनि उपलब्ध गराउँछिन् ।

उनलाई अहिले नेपाली फिल्म यथार्थसँग नजिक भएर बनिरहेका छन् भन्ने लाग्छ । तथापि, ब्याकग्राउन्ड म्यूजिक अझै पनि कमजोर रहेको उनको बुझाई छ । ‘कन्सेप्ट डेभलप’ र प्रस्तुतिकरणमा अझै मिहिनेत गर्न उनको सुझाव छ । अहिलेको पुस्तामा अभिनेत्रीद्वय सुरक्षा पन्त र स्वस्तिमा खड्काको अभिनयबाट प्रभावित रहेकी पूजालाई अभिनेतामा भने प्रदीप खड्काको काम मन परेको छ ।