यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘नाईं नभन्नू ल ६’पछि अभिनेत्री आँचल शर्माले लगालग फिल्म सम्झौता गरिरहेकी छन् । अहिले ओखलढुंगाको रुम्जाटारमा फिल्म ‘डिग्री माइला’को छायांकन गरिरहेकी उनको लाइनअपमा ‘पञ्चामृत’ र ‘राजमहल’सँगै अब अर्को फिल्म ‘एक मुठ्ठी बादल’ पनि थपिएको छ । बिहीबार एक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।
साहारा शर्माको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको पोस्टरमा आँचल चित्रित छिन् । उनी नवविवाहित दुलहीझैं देखिन्छिन् । उनको हातमा मेहेन्दी छ भने रातो साडी पहिरिएकी छन् । पोस्टरको पृष्ठभूमिमा भने उनलाई भर्खरको युवतीको रुपमा चित्रित गरिएको छ । यसले फिल्ममा आँचल आमा-छोरीको भूमिकामा हुनसक्ने बुझाउँछ । पोस्टरमा उनी गम्भीर भावमा देखिएकी छन् ।
पारिवारिक कथावस्तुमा बन्न लागेको फिल्ममा आँचलका साथै सहयोग अधिकारीको पनि मुख्य भूमिका रहनेछ । अभिमन्यू दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाको प्रस्तुति रहेको फिल्मको आगामी फागुनबाट पोखरामा छायांकन सुरु हुने जनाइएको छ । आउँदो जनवरी (२०२५)मा ढाका इन्टरनेसनल फिल्म फेस्टिभलको मार्केट र ल्याबमा फिल्म पेश गर्ने निर्देशक शर्माको तयारी छ ।
आँचल ‘एक मुठ्ठी बादल’लाई लिएर उत्साहित देखिएकी छन् । उनी इन्स्टाग्राममा लेखिन्छन्, ‘यो जीवनभरको भूमिका हो । अन्ततः मलाई व्यक्तिगत रूपमा केही गर्ने मौका मिलेको छ ।’ उनले यो फिल्मलाई नेपाली महिलाको नसुनेको कथा भनेकी छन् । आगामी माघ पहिलो साताबाट आँचलले ‘राजमहल’को छायांकन सुरु गर्नेछिन् । यसपछि उनले ‘एक मुठ्ठी बादल’लाई समय निकाल्नेछिन् ।