बलिउडमा रोमान्टिक हिरोको छवि बनाएका इमरान हाशमीको अब फिल्ममा चरित्र बदलिन थालेको छ । गत वर्ष फिल्म ‘टाइगर ३’मा भिलेनको भूमिकामा प्रस्तुत भएपछि उनलाई त्यही प्रकारको भूमिकामा प्रस्ताव ओइरिरहेको छ । अब अर्को सफल फिल्म ‘डन’को तेस्रो श्रृंखलामा पनि उनी भिलेनको भूमिकामा देखिने भएका छन् । यद्यपि, यसको आधिकारिक पृष्टि हुन भने बाँकी छ ।
निर्देशक फरहान अख्तरले भिलेनको भूमिकामा इमरानलाई निश्चित गरिसकेको भारतीय मिडियाहरुले दाबी गरेका छन् । फिल्ममा डन पात्रमा भने अभिनेता रणवीर सिंह देखिनेछन् । यो फिल्मका अघिल्ला दुई श्रृंखलामा सुपरस्टार शाहरुख खान डन बनेका थिए । तेस्रो श्रृंखलामा पनि फरहान शाहरुखलाई नै लिन चाहन्थे । तर, उनले इच्छा नदेखाएपछि फिल्ममा रणवीरको प्रवेश भएको हो ।
निर्देशक अख्तर र रितेश सिधवानीले संयुक्त रुपमा निर्माण गर्ने फिल्मलाई सन् २०२५ मा रिलिजको तयारी गरिएको छ । फिल्ममा रणवीरको अपोजिटका लागि अभिनेत्रीको टुंगो लागिसकेको छैन । तर, भारतीय मिडियामा कियारा आडवाणीको नाम चर्चामा छ । ‘डन’को पहिलो श्रृंखला सन् २००६ र सन् २०११ मा दोस्रो श्रृंखला प्रदर्शनमा आएको थियो । यी दुवै श्रृंखला सुपरहिट भएका थिए ।