नेपाली निर्माताहरु वर्षात र जाडोको मौसममा फिल्म रिलिज गर्न चाहँदैनन् । यसलाई फिल्म रिलिजको बेमौसमी समय भनिन्छ । तर, यसपटक जाडो महिनामै भारतीय फिल्महरुले नेपालमा करोडौं कमाए । गत मंसिर २९ गते आएका दुई नेपाली फिल्म ‘दुई कदम’ र ‘जम्प’पछि तीन हप्ता नेपालका हलमा विदेशी फिल्मको दबदबा रह्यो । अब भने हलमा नेपाली फिल्म फर्किएका छन् ।
शुक्रबारबाट घनश्याम लामिछानेको निर्देशन रहेको ‘चित्रा’ र दीपक श्रेष्ठद्वारा निर्देशित ‘पर्खि बसें तिमीलाई’ले व्यावसायिक प्रदर्शन सुरु गरेका हुन् । तर, यी दुवै फिल्मलाई देशका मल्टीप्लेक्सहरुले शोज बाँडफाँडमा खासै महत्त्व दिएका छैनन् । तमिल फिल्म ‘क्याप्टेन मिलर’ र बलिउड फिल्म ‘मेरी क्रिसमस’ पनि शुक्रबारबाटै प्रदर्शनमा आएकाले दुई नेपाली फिल्म शोजमा चेपिएका हुन् ।
‘चित्रा’मा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतको अभिनय छ । बाबु-छोरीको सम्बन्धको कथामा आधारित भएर बनेको फिल्ममा महेश पौडेलको छायांकन छ भने मनिष गौतमको पटकथा लेखन छ ।
‘चित्रा’लाई निःशुल्क हेर्न मिल्ने व्यवस्था पनि गरिएको छ । १० वर्षमुनिका बालबालिकाहरुले फिल्मको टिकट निःशुल्क पाउनेछन् भने कुनै पनि बालिकाले चित्रा नाम भएको प्रमाण देखाउँदा ३ वटा टिकट सित्तैमा पाउने जनाइएको छ । सोमबार काठमाडौंमा भएको प्रिमियरमा फिल्मको कथावस्तुको प्रशंसा भएको थियो भने अभिनेत्री सिम्रन खड्काले अभिनयको तारिफ बटुलेकी थिइन् ।