‘स्टार’ क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र ५ लाख जरिवाना तोकेपछि समर्थन र विरोध दुवै भैरहेको छ । नेपाली फिल्मका केही कलाकारहरु भने सन्दीपको पक्षमा देखिएका छन् । ‘नाईं नभन्नू ल’ फेम्ड अभिनेता जीवन लुईंटेलले ‘जस्टिस फर सन्दीप’ भन्दै उनलाई फसाइएको आशय व्यस्त गरेका छन् ।
सन्दीपले हातमा बल लिएर हाँसेको एक तस्वीर सेअर गर्दै उनी फेसबुकमा लेख्छन्, ‘तिम्रो यही डल्लाले ठोक्नुपर्छ अन्धा कानुनका बेल्सहरु, विकेटभन्दा धेरै पर र फुटाउनुपर्छ असमानताका स्ट्म्पहरु ।’ उनको यो स्टाटसप्रति समर्थकहरु भने भड्किएका छन् । केहीले जीवनलाई ‘भगौडा एक्टर’को संज्ञा दिएका छन् भने कतिले अब उनीप्रतिको सम्मान नै सकिएको प्रतिक्रिया जनाएका छन् ।
जीवनको स्टाटसको कमेन्टमा एक प्रशंसक लेख्छन्, ‘दाई कसम तिमीप्रतिको सम्मान सकियो अब, म यतिबेला सरमले निथ्रुक्क छु ।’ त्यसैगरी, अर्का एक प्रशंसकले लेखेका छन्, ‘सन्दिप लामिछाने जस्तालाई काँध थाप्ने तपाईंहरु विगत र वर्तमान मात्र हो, भविष्य होइन । यो अभिव्यक्ति आफूमा भएको कुण्ठित प्रतिनिधित्व प्रष्फुटित भएको मात्र हो ।’ केहीले भने जीवनको समर्थन गरेका छन् ।
पुराना अभिनेता कृष्ण मल्ल पनि सन्दीपको पक्षमा देखिएका छन् । उनले सन्दीपलाई माफी दिनुपर्ने आशय व्यक्त गर्दै फेसबुकमा लेखेका छन्, ‘कस्ता कस्तालाई त राष्ट्रपतिले माफी दिएका छन्, राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई माफी दिँदा के हुन्छ ? अर्को विकल्प भनेको उनलाई जेलमा रहँदा पनि खेलमा सरिक गराउने प्रावधान गर्न सकिन्छ ।’ उनको स्टाटसमा भने समर्थन बढी छ ।