नेपाली फिल्ममा ‘स्टार किड्स’को प्रवेश बाक्लिरहेको समयमा अब ‘एक्सन स्टार’ विराज भट्टका छोरा पनि हिरो बन्ने भएका छन् । विराजले आफ्नो निर्देशन तथा निर्माण रहने नयाँ फिल्म ‘१२ गाउँ’बाट जेठो छोरा समीर भट्टलाई हिरो बनाउन लागेका हुन् । विगत १० वर्षदेखि समीरले मुम्बईमा बसेर अभिनयसँगै मार्सल आर्टको तालिम लिइसकेको जनाइएको छ । उनी उमेरले २४ वर्षका छन् ।
विराजले लामो समयदेखि छोराका तस्वीरहरु लुकाइरहेका थिए । आफ्नै फिल्मबाट डेब्यू गराउने निश्चित भएपछि उनले आइतबार छोराको एक आकर्षक तस्वीर मिडियालाई उपलब्ध गराएका छन्, जसमा समीर ‘सिक्स प्याक’सहित देखिएका छन् । उनी पिताझैँ अग्ला कदका छन् भने लुक्स चकलेटी छ । व्यवस्थापन संकायमा ग्रेजुएशन गरेका उनी मुम्बईस्थित अँधेरीमा बस्दै आएका छन् ।
केही स्थापित नेपाली मेकरले यसअघि नै समीरका तस्वीरहरु हेरेपछि उनलाई फिल्ममा डेब्यू गराउने इच्छा राखेका थिए । त्यसका लागि विराज पनि सकारात्मक देखिएका थिए । तर, पछि उनी आफ्नै होम प्रोडक्सनको फिल्मबाट छोरालाई हिरो बनाउने निर्णयमा पुगेका हुन् । अहिले पनि केही निर्माताले समीरलाई फिल्ममा लिन विराजसँग निरन्तर रुपमा भेट गरिरहेको निकट स्रोत बताउँछ ।
सन्तोष सरकारको कथा तथा पटकथा रहेको ‘१२ गाउँ’मा विराजको पनि अभिनय रहने जनाइएको छ । फिल्मको नेपाल र भारतमा छायांकनको तयारी गरिएको छ । भारतका केही चर्चित कलाकारलाई पनि फिल्ममा लिने योजनामा विराज छन् । उनी फिल्ममा अहिलेसम्मकै स्तरीय एक्सन हुने दाबी गर्छन् । २०७६ सालमा रिलिज भएको ‘साङ्लो’बाट विराजले निर्देशनमा डेब्यू गरेका थिए ।