केही वर्षयता तेलुगू फिल्मले व्यावसायिक हिसाबमा ठूलो सफलता हासिल गरिरहेका छन् । यसबीच, यही शुक्रबारदेखि प्रदर्शनमा आएको अर्को तेलुगू फिल्म ‘हनुमान’ले पनि सफलताको संकेत गरेको छ । २५ करोड भारुमा निर्माण भएको फिल्मले प्रदर्शनको दुई दिनमा ‘पेड प्रिभ्यूज्’सहित तेलुगू, कन्नड, तमिल, मलयालम र हिन्दी भाषामा गरी कूल २४ करोड ७ लाख कमाइसकेको छ ।
बलियो ‘माउथ पब्लिसिटी’पछि शनिबारबाट तेलुगूसँगै हिन्दी भर्सनमा फिल्मको अकुपेन्सीमा वृद्धि भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, हिन्दी भर्सनमा मात्र तीन दिनमा फिल्मले १० करोडमाथि कलेक्सन गर्नेछ । २५ जनवरी अर्थात् ‘फाइटर’भन्दा अघि कुनै ठूलो फिल्म नभएकाले ‘हनुमान’ले हिन्दीसहित पाँच भाषामा सय करोडमाथिको कमाई गर्न सक्ने प्रक्षेपण गरिएको छ ।
माइथोलोजी जनरा (पौराणिक कथा)मा बनेको ‘हनुमान’लाई तेलुगूको पहिलो सुपरहिरो फिल्म भनिएको छ । प्रशान्त वर्माको लेखन तथा निर्देशन रहेको फिल्मको भीएफएक्स, ब्याकग्राउन्ड स्कोर र छायांकनको प्रशंसा भइसकेको छ । कम बजेटमा पनि फिल्ममा स्तरीय भीएफएक्स देखिएको छ । समीक्षकले ‘ब्रह्मास्त्र’ र ‘आदिपुरुष’भन्दा पनि राम्रो भीएफएक्स रहेको प्रतिक्रिया जनाएका छन् ।
‘हनुमान’को प्लट अन्जनाद्रि नामको एक काल्पनिक गाउँमा आधारित छ, जहाँ हनुमन्थु (तेजा सज्जा)लाई हनुमानको शक्ति मिल्छ । अमृता अय्यर, विनय राय, वरलक्ष्मी सरथकुमार र राज दीपक शेट्टीको पनि फिल्ममा अभिनय रहेको छ । ‘हनुमान’ हेरेका प्रायः दर्शकले सामाजिक सञ्ञ्जालमा तेजा सज्जालाई तेलुगूको नयाँ सुपरस्टार भनेका छन् । नेपालमा भने यो फिल्म रिलिज भएको छैन ।