जय राज रायको लेखन तथा निर्देशनमा फिल्म ‘म्याउँ’ निर्माण हुने भएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा विरालोको आँखालाई डरलाग्दो रुपमा चित्रित गरिएको छ भने अभिनेता अनुपविक्रम शाही पिठ्यूँको कसिलो शरीरसहित सर्टलेस अवतारमा प्रस्तुत छन् । उनको अनुहार भने देखाइएको छैन ।
‘दर्पण छायाँ’ फेम्ड अभिनेता उत्तम प्रधानले ‘म्याउँ’बाट करिब १२ वर्षपछि अभिनयमा कमब्याक गर्ने भएका छन् । अनुपको भने यो महत्त्वाकांक्षी फिल्म मानिएको छ । फिल्ममा मुख्य अभिनेत्रीको टुंगो लागिसकेको छैन । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने फिल्मको दोस्रो श्रृंखला पनि निर्माण हुनेछ । निर्देशक रायकै निर्माण रहने फिल्मलाई २०२४ मा रिलिजको तयारी गरिएको छ ।
फिल्मको कथासारबारे प्रष्ट पार्दै निर्देशक राय भन्छन्, ‘मानसिक रूपमा विक्षिप्त साइको किलर, जसको आफ्नै समस्याग्रस्त अतीत छ । उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न परिस्थितिको कथामा फिल्म बन्नेछ । ‘ट्विस्ट एन्ड टर्न’को भरपुर गरी सानदार अनुभव दिलाउने प्रयास गर्नेछौं ।’ फिल्ममा आकाश कुमारको डिओपी रहनेछ, जो साउथ फिल्मका छायाँकार हुन् ।
फिल्मका गीतमा एजे अलीमिर्जाक नौशाद अलीको संगीत तथा साई भिग्नेश र पद्मलताको पार्श्व गायन रहनेछ । उनीहरु पनि साउथ फिल्ममा आबद्ध छन् । लक्ष्मण सुनारको एशोसियट निर्देशन तथा सम्पादन रहने फिल्म चीनमा पनि रिलिज हुनेछ । जसको लागि चिनियाँ वितरक कम्पनी साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया को. लि. फिल्ममा जोडिएको छ ।
जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको फिल्मकी कार्यकारी निर्माता निशा खतिवडा हुन् । भुटानी फिल्ममा अनुभव लिएका सुमन माझीको साउन्ड डिजाइन तथा सुदिप भण्डारीको भीएफएक्स रहनेछ । पोस्टरले फिल्ममा अनुप एक्सन अवतारमा प्रस्तुत हुने बुझ्न सकिन्छ । प्राप्त जानकारी अनुसार, यो फिल्ममा उनी साइको किलरको भूमिकामा देखिनेछन् ।