अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् । अशोक थापा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘खुस्मा’मा उनीहरुको जोडी बाँधिन लागेको हो । माघे संक्रान्तिको अवसरमा सोमबार कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको छ । दुई चरणमा छायांकन हुने फिल्म द्वन्द्वकालीन प्रेमकथामा केन्द्रित भएर बन्नेछ ।
फिल्मको निर्मातामा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी छन् भने एसडी योगी, सुरेन्द्र राना र राम अविरल विष्टको संगीत रहनेछ । दीपक बज्राचार्यले छायांकनको जिम्मेवारी पाएको फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) र अरुण मगरको पनि अभिनय रहनेछ । एम मिडियाको ब्यानरमा निर्माण हुने फिल्मलाई काफिया फिल्मस्ले देशभर वितरण गर्नेछ ।
धिरजले फिल्ममा आफ्नो गाउँको क्यारेक्टर रहेको बताएका छन् । ‘मलाई हरेक फिल्ममा दर्शकले फरक लुक्समै देखिरहनुभएको छ । यसमा पनि त्यो देखिनेछ,’ उनी भन्छन्, ‘मलाई निर्देशकले फिल्म अफर गर्दा नै केही फरक लागेको थियो । यसमा फरक तरिकाले लभस्टोरी कथा आउनेछ । गाउँमा हुँदाको ‘इनोसेन्ट लभ’लाई फिल्मलाई देखाइनेछ । म फिल्मलाई लिएर उत्साहित छु ।’
उपासना भने स्क्रिप्ट सुन्नसाथ फिल्ममा काम गर्नुपर्छ भन्ने निर्णयमा पुगेको बताउँछन् । ‘स्क्रिप्ट सुनेपछि नै मलाई यो फिल्म गर्नैपर्छ भन्ने लागेको थियो । फिल्ममा गाउँको मीठो लभस्टोरी छ,’ उनले भनिन् । धिरजसँग काम गर्ने इच्छा पूरा भएकोमा पनि उनले खुसी व्यक्त गरिन् । फिल्मको छायांकन यही माघ ५ गतेदेखि रुकुमको मैकोट, बागलुङको ढोरपाटन, पोखरा र काठमाडौंमा गरिनेछ ।