आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको अर्जुन सुवेदी निर्देशित फिल्म ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक १ मिनेट ३७ सेकेण्ड लम्बाईको टिजरमा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापाबीचको दुश्मनीलाई देखाइएको छ । अभिनेत्री मिरुना मगर भने शान्त स्वभावमा थारु युवतीको रुपमा चित्रित छिन् ।
रङ्गेली सहरमा राज गर्न चाहने दुई समुहको कथामा फिल्म केन्द्रित रहेको टिजरले बुझाउँछ । दयाहाङ (विजय) र अर्पण (भगवान् दादा) दुवै ग्याङस्टार लुक्समा प्रस्तुत छन् । टिजरमा ब्याकग्राउन्ड स्कोर सशक्त देखिन्छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा प्रवीण खतिवडा, रमेश बुढाथोकी, शेखर चापागाईं, प्रभाकर न्यौपाने, सन्तोष सरकार लगायतको पनि विशेष भूमिका छ ।
हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको फिल्मका छायाँकार सुशन प्रजापति हुन् । फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् भने सह निर्मातामा युवक कार्की र शिव शङ्कर चौलागाईँ छन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।