यसपालिको माघे संक्रान्तिको अवसर पारेर एकपछि अर्को फिल्मको निर्माण घोषणा भैरहेको छ । ‘खुस्मा’ र ‘म्याउँ’पछि अब फिल्म ‘मोदीबेनी’ घोषणा गरिएको छ । सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको फिल्मलाई शङ्कर कोइरालाले निर्देशन गर्नेछन् । उनले वर्षौंदेखि फिल्म, म्यूजिक भिडियो, विज्ञापन, वृत्तचित्र, वेब सिरिज आदिको सम्पादन गर्दै आइरहेका छन् ।
करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरेर पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथामा फिल्म बन्ने जनाइएको छ । फिल्ममा दीलिप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्मातामा रहेका छन् । आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्म यही माघ अन्तिमबाट छायांकनमा जानेछन् । दुई चरणमा छायांकन गर्न लागिएको फिल्म डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ ।
फिल्ममा अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका देखिने सम्भावना प्रवल छ । उनीसँग निर्माण टिम निरन्तर छलफलमा छ भने केकी फिल्ममा काम गर्न सकारात्मक देखिएकी छन् । सम्भवतः यसै साताभित्र उनीसँग कागजी सम्झौता हुनसक्नेछ । फिल्ममा निर्माता दीलिप केसीको पनि अभिनय रहनेछ । फिल्मको पहिलो चरण काभ्रेमा र दोस्रो चरण मोदीबेनी क्षेत्रमा छायांकन गरिनेछ ।