फिल्मी दुनियाँमा नआउँदै राम्रो ‘नेम-फ्रेम’ बनाएकी मोडल हुन्, नीति शाह । सन् २०१७ मा मिस इन्टरनेशनलको उपाधि जितेपछि उनको सौन्दर्यको चर्चा हुँदा धेरै फिल्मको अफर पुगेको थियो । त्यसमध्ये एक थियो, ‘ड्रिम्स’ । अभिनेता भुवन केसी स्वयंले उनलाई फिल्म अफर गरेका थिए । तर, त्यसबेला उनले उक्त फिल्म अस्वीकार गरिन् । र, साम्राज्ञी आरएल शाहले डेब्युको मौका पाइन् ।
नीतिले ‘ड्रिम्स’पछि पनि धेरै फिल्मको प्रस्ताव नकारेकी थिइन् । जब उनी फिल्म गर्ने निर्णयमा पुगिन् त्यसपछि भने उनलाई डेब्यू गर्नै सकस परेको थियो । उनले ‘हुतुतु’, ‘एक्स ९’, ‘कामिनो’ र ‘रावायण’ गरी चार फिल्म सम्झौता गरे पनि सबै समस्यामै अल्झिए । अब भने उनी फिल्म ‘खजुरे ब्रो’बाट डेब्यु गर्दैछिन् । फिल्मको छायांकन समेत सुरु भैसकेकाले उनलाई ठूलो राहत मिलेको छ ।
सोमबार फिल्मको घोषणामा उनले ‘ड्रिम्स’बाट अफर आउँदाको क्षण स्मरण गरिन् । त्यसबेला फिल्म गर्न आत्मविश्वास नभएकाले काम नगरेको उनको भनाई छ । उनी भन्छिन्, ‘मलाई भुवन केसी सरले ‘ड्रिम्स’ अफर गर्नुभएको थियो । त्यसबेला म १२ कक्षामा पढिरहेकी थिएँ । त्यतिबेला फिल्ममा काम गर्न ममा आत्मविश्वास थिएन । नेपाली फिल्मको बारेमा मलाई खासै थाहा पनि थिएन ।’
नीतिले सम्झौता गरेका फिल्म निर्माण भएका हुन्थे भने अनमोल केसी या प्रदीप खड्काबाट उनको डेब्यु हुन्थ्यो । यो उनको चाहना पनि थियो । किनकि, अनमोल र प्रदीपको फिल्मबाट डेब्यु गर्दा करिअर सुखद् रुपमा अगाडि बढ्ने उनको विश्वास थियो । तर, उनको त्यो चाहना पूरा हुन सकेन । ‘खजुरे ब्रो’मा भने उनको जोडी अभिनयमा स्थापित हुन संघर्षरत रेअर राईसँग बाँधिएको छ ।
फिल्मको घोषणा कार्यक्रममा पत्रकारले नीतिलाई प्रश्न गरे- ‘तपाईंको चाहना त अनमोल र प्रदीपको फिल्मबाट डेब्यु गर्ने थियो नि होइन र ?’ उनले फ्याट्टै जवाफ दिइहालिन्, ‘चाहना त थियो तर रेअरसँग भाग्य लेखेको रहेछ । एकदमै खुसी छु म ।’ उनले अब निरन्तर रुपमा फिल्म गर्ने योजना रहेको बताएकी छन् । स्क्रिप्ट र क्यारेक्टर राम्रो भएको अवस्थामा फिल्म गर्ने उनको भनाई छ ।
निर्देशक सुरज सुनुवारले नीतिको ‘नेम-फ्रेम’ हेरेर फिल्ममा नलिएको दाबी गरेका छन् । ‘एउटा राम्रो क्यारेक्टर गर्नसक्ने कलाकार चाहिएको थियो । संयोगवश उहाँ नै जर्नुभयो,’ उनले भने, ‘नेम-फ्रेमकै हिसाबले सोचेको भए त स्टार भ्यालु भएकै कलाकार राख्थेँ नि । नीतिजीलाई क्यारेक्टरको हिसाबले लिएका हौं । उहाँको ‘फ्यान फलोइङ’लाई पनि कहीँ न कहीँ मध्यनजर चाहिँ गरेका हौं ।’