नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म हुने भएको छ । मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित एक कार्यक्रमका बीच आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले महोत्सवमा प्रदर्शन हुने फिल्महरुको ‘लाइनअप’ पनि सार्वजनिक गर्यो । पाँच दिन चल्ने महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिने भएको छ ।
महोत्सवका अध्यक्ष केपी पाठकले यो संस्करणमा ६० देशका ५०० बढी प्राप्त भएकोमा छनोट समितिले ४० देशका ८८ वटा फिल्म मात्र छानेको जानकारी गराए । उनले भने, ‘निफलाई प्राप्त फिल्मको संख्याले हामीलाई उत्साहित बनाएको छ । फिल्मको संख्याले ५ दिनमा पनि नभ्याउने स्थिति देखिएको छ ।’ महोत्सवलाई निरन्तरता दिन आर्थिक रुपमा चुनौती भैरहेको पनि उनको भनाई छ ।
निफमा यसपटक छनोट भएका कयैन् फिल्महरु कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । निफमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी अवार्ड बाँडिनेछ भने लघु फिल्म र वृत्तचित्र विधामा पनि अवार्ड बाँडिनेछ । महोत्सवमा फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित कार्यशाला, छलफल र अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ ।
महोत्सवमा प्रदर्शन हुने फिल्महरु काठमाडौंस्थित क्यूएफएक्स चेन अन्तर्गतका सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरमा देखाइनेछ । मोफसलमा केही संस्करण सम्पन्न गरेको निफले यो सालबाट प्रदेशमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरिरहेको छ । प्रदेशमा हुने फेस्टिभलमा भने महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका अन्य फिल्महरु पनि प्रदर्शन गरिनेछ ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै अभिनेता तथा निर्देशक नीर शाहले निफलाई आगामी दिनमा पूँजी र बजार तथा पूर्वीय ज्ञानमा केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन् । उनले राष्ट्रिय फिल्म उद्योग पूँजी र बजारमा केन्द्रित नहुने हो भने अबका थुप्रै वर्ष अहिलेकै अवस्थामा रहिरहनुपर्ने भएकाले निफ जस्ता कार्यक्रमले यस्ता कुरामा विशेष जोड दिन अत्यन्त आवश्यक रहेको औँल्याएका छन् ।
चलचित्र विकास बोर्ड अध्यक्ष तथा अभिनेता भुवन केसीले नीति-नियम नहुनाले बोर्डले अपेक्षित काम गर्न नसकेको धारणा राखेका छन् । ‘पञ्चायतकालीन कानुनमा हामी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । अहिले हामी कानुन निर्माणको चरणमा छौँ । यसपछि विश्व बजारमा जाने फिल्मलाई सघाउन सक्छौं,’ उनले भने । कार्यक्रममा अभिनेता प्रदीप खड्काको पनि उपस्थिति रहेको थियो ।