‘लुट’बाट नेपाली फिल्मको परम्परागत कथावाचन शैलीको ट्रेन्ड नै बदलेका निश्चल बस्नेतले लगभग ६ वर्षपछि ‘दिमाग खराब’बाट निर्देशनमा पुनरागमन गरे । यस वर्षको तिहार छेको पारेर प्रदर्शनमा आएको यो फिल्म व्यावसायिक रुपमा सफल भएपछि उनले यसको सिक्वेल निर्माणको घोषणा गरिसकेका छन् । ‘दिमाग खराब २’लाई २०८३ सालको दशैंमा प्रदर्शन गर्ने उनको तयारी छ ।
यो फिल्मभन्दा अगाडि निश्चिलले दुईवटा फिल्म बनाउनेछन् । एउटा हो, ‘बेहुली फ्रम मेघौली’ । यसमा उनी निर्माता र कलाकारको रुपमा रहनेछन् । अर्को फिल्म भने उनी आफैंले निर्देशन गर्नेछन्, जुन एक्सन जनरामा बन्नेछ । बिहीबार साँझ १२ बजे आफ्नो जन्मदिनको अवसरमा उनले फेसबुकमा स्टाटस लेख्दै अर्को वर्षको दशैंअघि एक्सन फिल्म बनाउन लागेको घोषणा गरेका हुन् ।
‘बेहुली फ्रम मेघौली’मा अभिनेत्री स्वस्तिमा खड्कासँग निश्चलको जोडी बाँधिनेछ । र, दुवै निर्माताको रुपमा पनि रहेछन् । आकाश बराल र सजन काफ्लेको निर्देशन रहने फिल्मको कथा चितवनको मेघौली गाउँमा केन्द्रित हुनेछ । यो फिल्म रिलिज भएपछि मात्र निश्चलले एक्सन फिल्मको छायांकन थाल्नेछन् । प्राप्त जानकारी अनुसार, यतिबेला फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ ।
निश्चल ‘लुट’को तेस्रो श्रृंखला बनाउने योजनामा पनि छन् । केही समयअघि उनले एक अन्तर्वार्तामा ‘लुट ३’ बन्ने संकेत गरेका थिए । फिल्मको कथा अगाडि बढाउन दिमागमा केही चीज फुरेको र त्यो स्क्रिप्टमा राम्रोसँग उत्रिए तेस्रो सिक्वेल बनाउने उनको भनाई थियो । अभिनयमा समेत सक्रिय उनलाई फिल्म अफर पनि टुटेको छैन । अहिले उनलाई फिल्म ‘बलिदान’ अफर भएको चर्चा छ ।