सन् २०१९ मा निर्देशक सञ्जय लीला भंसालीले अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्टलाई मुख्य भूमिकामा लिएर फिल्म ‘इन्शाअल्लाह’ बनाउने तयारी गरेका थिए । तर पछि भंसाली र सलमानबीच श्रृजनात्मक मतभेदपछि फिल्मको काम अगाडि बढ्न सकेको थिएन । अब भंसाली ‘इन्शाअल्लाह’लाई फरक ढंगले बनाउने तयारीमा जुटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अहिले नेटफ्लिक्सको वेब सिरिज ‘हिरा मण्डी’को पोस्ट प्रोडक्सनमा व्यस्त रहेका भंसाली यस वर्ष रणवीर सिंह र आलिया भट्टलाई लिएर फिल्म ‘बैजू बावरा’ बनाउने योजनामा छन् । यसपछि उनी ‘इन्शाअल्लाह’ निर्माणको सोचमा रहेको जनाइएको छ । उनले फिल्मको मुख्य भूमिकामा अभिनेता शाहरुख खानलाई लिन लागेको चर्चा छ । दुवैबीच केही चरण भेटघाट समेत भइसकेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार, भंसालीले अब पीरियड ड्रामाभन्दा हल्काफुल्का रोमान्टिक-कमेडी फिल्म बनाउन चाहेका छन् । यसैले उनले शाहरुखसँग कयैन् पटक भेट गरिसकेका छन्, जसमा कथावस्तुदेखि चरित्रको बारेमा दुवैबीच गहन छलफल भएको छ । शाहरुख फिल्ममा काम गर्न सकारात्मक देखिएका छन् । तर, अहिलेसम्म उनले भंसालीलाई कुनै निर्णय दिइसकेका छैनन् ।
भंसालीले यसअघि शाहरुखलाई लिएर सन् २००२ मा फिल्म ‘देवदास’को निर्देशन गरेका थिए । अब २६ वर्षपछि ‘इन्शाअल्लाह’मा उनीहरु सहकार्य गर्ने प्रयासमा छन् । ‘गंगुबाई काठियावाडी’, ‘पद्मावत’, ‘बाजीराव मस्तानी’, ‘राम लीला, ‘हम दिल दे चुके सनम’ जस्ता फिल्मबाट निर्देशनमा अग्लो नाम बनाएका भंसाली विशेषगरी पीरियड ड्रामा फिल्म बनाउने निर्देशकको रुपमा चिनिन्छन् ।