नेपालमा मौसम हेरेर फिल्मको रिलिज घोषणा गर्ने ट्रेन्ड छ । वर्षात र चिसो मौसममा फिल्म रिलिज गर्नु भनेको निर्माताले आफ्नै खुट्टामा बञ्चरो हान्नु मानिन्छ । यी दुवै मौसममा हल पुगेर दर्शकले फिल्म हेर्दैनन् भन्ने भ्रम धेरैमा छ । यसैले वर्षेनि यी दुई मौसममा नेपाली फिल्म रिलिजको खडेरी लाग्छ । यसपालिको पुषमा पनि जम्मा दुईवटा फिल्म रिलिज भए, ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ ।
जाडो मौसम मानिने मंसिर र पुषमा तीन भारतीय फिल्म ‘एनिमल’, ‘सलार’ र ‘डंकी’ले नेपालको बक्स अफिसमा ठूलो अंक जोड्दा दुई नेपाली फिल्मको अवस्था भने दयनीय देखिएको छ । ‘माउथ पब्लिसिटी’ कमजोर हुँदा दुवै फिल्मको व्यापार प्रभावित बनेको हो । यद्यपि, ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ले कात्तिकपछि एक हप्तासम्म हलमा टिक्ने स्वदेशी फिल्मको रेकर्ड भने बनाएका छन् ।
भोलि शुक्रबारबाट तेगुलू फिल्म ‘हनुमान’ रिलिज हुन लागेकाले काठमाडौंका केही मल्टीप्लेक्सहरुले बिहीबारसम्म ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’लाई शो उपलब्ध गराएका छन् । अर्थात् शुक्रबारबाट दुवै फिल्म उत्रिनेछन् । केही मल्टीप्लेक्सले त दर्शक अभावका कारण सोमबारबाट नै फिल्म हटाइसकेका थिए । दुवै फिल्म ‘कथावाचन’मा चुकेकाले दर्शक आकर्षित गर्न असफल भएका हुन् ।
‘पर्खि बसें तिमीलाई’, छोरी रक्षा बुढाथोकीलाई हिरोइन बनाउन पिता राजाराम बुढाथोकीले निर्माण गरेको फिल्म हो । तर, फिल्म कमजोर निस्किँदा राजारामको लगानी बालुवामा पानीझैँ भएको छ । र, अभिनेत्रीको रुपमा स्थापित हुने रक्षाको सपना पनि अधुरै बनेको छ । बरु यो फिल्मबाट किरण श्रेष्ठको अभिनयको चर्चा भएको छ । रक्षालाई भने पिताको लगानीले पनि राहत दिन सकेन ।
उता ‘चित्रा’को सिक्वेल समेत घोषणा भइसकेको छ । अब फिल्मको नतिजाले सिक्वेल बन्नेमा आशंका उब्जिएको छ । हुन त नेपाली निर्माताहरु चर्चाका लागि फिल्म प्रदर्शन अगावै सिक्वेल घोषणा गर्न हतारिने गरेका छन् । जब फिल्मले हलबाट पोस्टरको पनि पैसा उठाउँदैन तब सिक्वेल घोषणामा मात्रै सीमित हुन्छन् । कतै ‘चित्रा’को पनि यही अवस्था त हुने होइन ? अब यो समयले नै भन्नेछ ।