‘तीन पाते’, ‘फूलथुंगे रानी’, ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘बाफ’ जस्ता गीतबाट लोकप्रियताको उत्कर्षमा पुगेका गायक सुजन चापागाईँले फिल्ममा पनि हिट गीत दिएका छन् । उनको स्वर तथा संगीत रहेको फिल्म ‘बाबरी’को ‘चुलबुल चुलबुल’ गीत चर्चित बनेको थियो । अब उनी सन्तोष सेनको निर्देशन तथा निर्माणमा बन्न लागेको फिल्म ‘बलिदान’को गीतमा पनि गुञ्जिने भएका छन् ।
सुजनसँगै उनी आबद्ध सांगीतिक संस्था आर्टमान्डु टिमका अन्य दुई सदस्य गीतकार हर्क साउद र निर्देशक नवीन चौहानसँग यसै साता निर्देशक सेनले कागजी सम्झौता गरेका छन् । अब फिल्मको गीत तथा ब्याकग्राउन्ड म्यूजिकमा सुजनसहितको टिमले काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन् भने सुजनको स्वर, संगीत र ब्याकग्राउन्ड म्यूजिक रहनेछ । नवीनले टिम व्यवस्थापन गर्नेछन् ।
सुजनसहितको टिम संलग्न भएसँगै यतिबेला गीत-संगीतको विषयमा कार्यशाला भैरहेको छ । निर्देशक सेनले फिल्मको कथा र मर्म अनुसारका गीत उत्पादन गर्न केही दिन छलफल गरिने जानकारी दिए । दशैंको फूलपातीमा टिजर रिलिज गरिएसँगै चर्चामा रहेको फिल्ममा सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा भित्रिसकेका छन् । बाँकी कलाकार छनोट गर्ने प्रक्रियामा निर्माण टिम छ ।
आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्मातामा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द र प्रेम पुरी छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथम लेखक दर्शन जीको लेखन रहेको फिल्मको ‘स्क्रिप्ट डक्टर’ मनोज पण्डित हुन् । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथावस्तुमा फिल्म बन्ने निर्देशक सेनले बताएका छन् ।