नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले फिल्मसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझावको विषयमा सरोकारवालाहरूसँग छलफल अगाडि बढाएको छ । यही बिहीबार बोर्डमा फिल्मसम्बद्ध संघ-संस्थाका प्रतिनिधि तथा फिल्मकर्मीहरुको उपस्थितिमा माग र सम्बोधनका विषयमा केन्द्रित भएर छलफल गरिएको थियो ।
करिब तीन महिना अगाडि बोर्डले आवश्यक राय सुझाव तथा पृष्ठपोषणका लागि प्रस्तावित मस्यौदा सार्वजनिक गरेको थियो । उक्त मस्यौदामा विभिन्न संघ-संस्थाहरुले बोर्डलाई स्वायत्तता बिना नै बनाइएको विधेयक मान्य नहुने भन्दै बोर्डसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लिखित सुझाव बुझाएका थिए । बोर्डले विधेयकबारे प्राप्त तिनै राय सुझावमा केन्द्रित भएर छलफल गरेको हो ।
छलफलको क्रममा बोर्ड अध्यक्ष भुवन केसीले सबैको साझा सहमतिमा चाँडै विधेयक पारित गरिने बताएका छन् । सञ्चारमन्त्रीले आफ्नै कार्यकालमा फिल्मसम्बन्धी विधेयक पारित गर्ने आश्वासन दिएको जानकारी गराउँदै उनले भने, ‘नयाँ विधेयक पारित गराउने फिल्मकर्मीहरुको धेरै वर्षौंदेखिको प्रयास हो । यसैले सबैको साझा सहमतिमा चाँडै विधेयक पारित गराउन हामी लागिपरेका छौं ।’
बोर्डका सदस्य सचिव तथा सञ्चार मन्त्रालयका उपसचिव विशाल सापकोटाले प्रस्तावित ऐनमा अझै बहस र छलफल गरिने बताए । विधेयक पास गराउन मन्त्रालय सकारात्मक रहेको बताउँदै उनले भने, ‘फिल्मसम्बन्धी विधेयकको विषयमा भविष्यमा आइपर्नसक्ने समस्याका बारेमा बोर्ड सजग छ । फिल्म क्षेत्रलाई अहित हुने कुनै पनि कानुन विधेयकमा नआओस् भनेर अझै छलफल गर्नेछौं ।’
छलफलको क्रममा अभिनेता दीपकराज गिरीले ऐनले सबैलाई अपनत्व गराउन सक्नुपर्ने सुझाव दिए । त्यसैगरी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले सरोकारवालाहरुको राय सुझाव समेटिएको मस्यौदालाई मन्त्रालय पठाउनुपर्ने जिकिर गरेका छन् । छलफलमा पूर्व बोर्ड अध्यक्ष दयाराम दाहाल, निर्देशक निश्चल बस्नेत, अभिनेता रवीन्द्र सिंह बानियाँ आदिको पनि उपस्थिति थियो ।