२२ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘गदर’को दोस्रो सिक्वेलले गत वर्ष भारतीय बक्स अफिसमा ५ सय करोडमाथिको ‘रेकर्ड’ बनायो । यो व्यापार बलिउडका लागि कुनै ‘सरप्राइज’भन्दा कम थिएन । किनकि, प्रदर्शनपूर्व फिल्मको उत्तिधेरै चर्चा थिएन । तर, नामै ब्रान्ड भएकाले ‘गदर २’ले अप्रत्यासित रुपमा सफलता हासिल गर्यो । अब यसको तेस्रो सिक्वेल पनि निर्माण हुने भएको छ ।
त्यसो त ‘गदर २’को कथा तेस्रो सिक्वेलको संकेत गर्दै टुंगिएको थियो । अब निर्देशक अनिल शर्मा ‘गदर ३’ बनाउने तयारीमा जुटेका छन् । पिंकविल्लाका अनुसार, निर्माण कम्पनी जी स्टूडियोजले तेस्रो सिक्वेलका लागि ‘ग्रीन सिग्नल’ दिएपछि निर्देशक शर्माले एउटा आइडियामा छलफल गरिरहेका छन् । फिल्म एकपटक फेरि भारत र पाकिस्तान संघर्षको पृष्ठभूमिमा निर्माण हुने जनाइएको छ ।
तेस्रो सिक्वेलको कथा सनी देओल (तारा सिंह), अमीषा पटेल (सकीना), उत्कर्ष शर्मा (चरनजीत)बाट सुरु हुनेछ । निर्देशक शर्माले पिंकविल्लासँग भनेका छन्, ‘तारा सिंह फेरि आउनेछन् किनकि अहिले हामी ‘गदर ३’को बारेमा विचार गरिरहेका छौं । हामी चाँडै स्क्रिप्टको कामलाई सुरु गर्नेछौं ।’ यतिबेला उनी नाना पाटेकर र उत्कर्ष शर्मालाई लिएर फिल्म ‘जर्नी’को छायांकन गरिरहेका छन् ।
‘गदर ३’का लागि जी स्टूडियोज र निर्देशक शर्माले सनी देओलसँग केही चरण छलफल गरेर कागजी प्रक्रिया समेत पूरा भैसकेको जनाइएको छ । ‘गदर २’को सफलतापछि यतिबेला सनीको करिअर उत्कर्षमा छ । उनी आगामी फ्रेबअरीबाट फिल्म ‘लाहोर’को छायांकनमा जोडिँदैछन् । उनले निर्देशक नितेश तिवारीको फिल्म ‘रावायण’मा हनुमानको चरित्र निर्वाह गर्न लागेको पनि चर्चा छ ।