अष्ट्रेलियाको भिक्टोरियास्थित वाल्हालामा नेपालको पहिचान र संस्कृति झल्किने गरी तयार गरिएको सेटमा हलिउड फिल्म ‘आइस रोड २’को छायांकन भैरहेको छ । त्यहाँको सडकदेखि घर र होटलसम्मलाई नेपालको हिमाली भेगको झल्को दिने गरि सजाइएको छ । फिल्मको छायांकनका लागि नेपाल पुलिस लेखिएको केही भ्यान र नेपालको झण्डा इंकित एक बस समेत तयार गरिएको छ ।
यतिबेला फिल्मका अभिनेता लियाम नीसनसहितका कलाकारले नेपालको सेटमा छायांकन गरिरहेका छन् । डेली मेलले प्रकाशित गरेको तस्वीरहरुमा लियाम नेपाल प्रहरीको पोशाकमा रहेका व्यक्तिसँग लडाइँ गरिरहेको देखिन्छ । प्रहरीको भूमिकामा रहेका कलाकार भने रुपरंगले नेपाली जस्तै देखिन्छन् । यद्यपि, उनको नाम खुलाइएको छैन । उनको पोशाकमा खुकुरी क्रस र तारा छ ।
डेली मेलमा प्रकाशित अर्को एक तस्वीरमा वाल्हालालाई दुरुस्तै नेपाली बजार बनाइएको देखिन्छ, जहाँ त्रिपाल टाँगेर तरकारीदेखि कपडासम्म बेच्न राखिएको छ । त्यहाँका स्थानीयहरुलाई यो एकदमै अनौठो लागेको डेली मेलले उल्लेख गरेको छ । २४ जनवरीमा छायांकन सकिएपछि वाल्हालालाई पुरानै स्वरुपमा फर्काइने जनाइएको छ । यो ठाउँमा ४ हजार जनसंख्या रहेको जनाइएको छ ।
फिल्ममा लियामसँगै अष्ट्रेलियन स्टार बर्नार्ड करी, ज्योफ मोरेल, ग्रेस ओसुलिवानको पनि मुख्य भूमिका रहेको छ । ‘आइस रोड २’ एक आइस रोड ड्राइभर (लियाम नीसन)मा केन्द्रित छ, जो आफ्नो भाईको अस्तु सेलाउन सगरमाथाको यात्रामा निस्किएका हुन्छन् । यसैले नेपालको सेट खडा गरेर फिल्मको छायांकन भैरहेको हो । यो फिल्म सन् २०२१ मा आएको ‘आइस रोड’को सिक्वेल हो ।