सौन्दर्य प्रतियोगिताको जगमा उभिएर फिल्मसम्मको यात्रा तय गरेका एकाधको मात्र करिअर सुखद् देखिएको छ । प्रायः फिल्मको असफलताले संकटको अवस्थामा छन् । कतिले पलायनको बाटो समेत रोजिसकेका छन् । सन् २०१२ की मिस इन्टरनेशनल र सन् २०१७ की वर्ल्ड मिस यूनिभर्सिटीकी विजेता शुभेच्छा खड्कालाई पनि फिल्मको श्रृंखलाबद्ध असफलताले ठूलो धक्का दिएको छ ।
सन् २०१९ मा फिल्म ‘रणवीर’बाट सहजै डेब्यूको अवसर पाएकी उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । एकातिर फिल्म व्यावसायिक रुपमा असफल भयो भने अर्कोतिर उनले अभिनयमा पनि आफ्नो खासै प्रभाव छाड्न सकिनन् । यद्यपि, ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीले उनलाई फिल्म ‘प्रेमा’मा अर्को अवसर दिए । तर, यसपटक पनि शुभेच्छा सफलता महसुस गर्नबाट बञ्चित भइन् ।
यसैबीच, उनी अभिनीत तेस्रो फिल्म ‘चित्रा’ गत पुष २७ गतेबाट प्रदर्शनमा आएको छ । अघिल्ला दुई फिल्म असफल भएकाले यो फिल्म उनका लागि महत्त्वपूर्ण थियो । तर, फिल्ममा उनी ‘शो पिस’मा सीमित छिन् । उनको चरित्रको फिल्ममा कुनै अर्थ देखिन्न । न त अभिनयमा परिपक्वता देखिन्छ । तेस्रो फिल्मसम्म आइपुग्दा पनि अभिनयमा नै चुक्नु उनका लागि आत्मसमीक्षाको विषय हो ।
त्यसो त ‘चित्रा’प्रति उनलाई कुनै आशा नै थिएन भन्ने कुरा प्रचारमा कहीँ कतै नदेखिनुले पनि स्पष्ट संकेत गर्थ्यो । फिल्म प्रदर्शनको संघारमा हुँदा उनी प्रेमीसँग हङकङमा रमाइरहेकी थिइन् । तर, फिल्मको सदस्य भएपछि व्यावसायिक सफलता र असफलता दुवैको हकदार हुनुपर्छ । उनले ‘चित्रा’बाट एकपटक फेरि असफलता बेहोरेकी छन् । योसँगै उनको फ्लपमा ‘ह्याट्रिक’ भएको छ ।