गत मंसिरदेखि नेपालका हलमा विदेशी फिल्मको दबदबा देखिएको छ । मंसिरमा ‘एनिमल’, पुषमा ‘आक्वाम्यान २’, ‘डंकी’, ‘सलार’, ‘मेरी क्रिसमस’, ‘क्याप्टेन मिलर’ जस्ता फिल्म रिलिज भए । यही शुक्रबारबाट साउथ फिल्म ‘हनुमान’ प्रदर्शन भैरहेको छ । विदेशी फिल्मको चुनौतीका बावजूद मंसिर र पुषमा नेपाली फिल्म रिलिज नभएका होइनन् । तर, कुनैले दर्शक आकर्षित नै गर्न सकेनन् ।
तिहार छेको पारेर गत कात्तिक अन्तिममा रिलिज भएको फिल्म ‘दिमाग खराब’पछि मंसिर २९ गते ‘जम्प’ र ‘दुई कदम’ रिलिज भए । त्यसको तीन हप्तापछि अर्थात् पुष २७ गते ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ प्रदर्शनमा आएका थिए । तर, चारवटै नेपाली फिल्मलाई दर्शकको अभाव हुँदा हलमा एक हप्ता पनि टिक्न सकेनन् । जसले गर्दा अहिले नेपालका हलहरु विदेशी फिल्मले भरिभराउ छन् ।
यतिबेला देशका अधिकांश मल्टीप्लेक्समा भारतीय फिल्महरु ‘हनुमान’, ‘डंकी’, ‘सलार’, ‘क्याप्टेन मिलर’, ‘मेरी क्रिसमस’ र हलिउड फिल्म ‘द बीकीपर’ प्रदर्शन भैरहेका छन् । अर्थात् हलमा नेपाली फिल्मको नाम निसाना छैन । यो अवस्था अझै दुई हप्ता रहनेछ । किनकि, माघ २६ भन्दा अगाडि रिलिजका लागि कुनै नेपाली फिल्म छैनन् । माघ २६ मा भने ‘हात्तीछाप’ र ‘दयारानी’ आउँदैछन् ।
अब नेपालका हल व्यवसायीहरुलाई आशा भनेको यही २५ जनवरी अर्थात् बिहीबारबाट प्रदर्शनमा आउन लागेको ऋतिक रोशन र दीपिका पादुुकोण अभिनीत बलिउड फिल्म ‘फाइटर’ हो । ट्रेलर रिलिजपछि चुलिएको चर्चा हेर्दा नेपालमा पनि फिल्मको व्यापार आक्रामक हुने प्रक्षेपण गरिएको छ । माघ अन्तिमबाट भने ठूलो ‘स्टारकास्ट’ भएका नेपाली फिल्म रिलिजका लागि तम्तयार छन् ।