रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो सिजनमा महिला निर्णायक फेरबदल भएका छन् । पहिलो सिजनको निर्णायकमा रहेकी अभिनेत्री सुरक्षा पन्तलाई अर्की अभिनेत्री केकी अधिकारीले ‘रिप्लेस’ गरेकी छन् । शोको निर्णायकमा केकी अनुबन्ध भइसकेको निर्देशक अमनप्रताप अधिकारीले जानकारी गराए । अन्य निर्णायकमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा र अनुप बराल यथावत् छन् ।
साहित्यप्रति रुचि राख्ने भएकाले पनि केकीलाई शोको निर्णायकमा रोजिएको हो । उनले बेला बखतमा सामाजिक सञ्जालमा आफैंले रचना गरेका कविताहरु सेअर गरिरहेकी हुन्छिन् । यसअघि रियालिटी शो ‘मेरो डान्स कप’मा निर्णायकको अनुभव लिइसकेकी उनी तत्काल कुनै फिल्ममा आबद्ध भएको जानकारीमा छैन । यसैले पनि उनले ‘पोएट आइडल’लाई समय दिन लागेको देखिन्छ ।
अभिनेता दिव्यदेवले होस्ट गर्ने शोको दोस्रो सिजन यही माघ २२ गतेदेखि प्रशारण हुँदैछ । प्रत्येक सोमबार र मंगलबार राति ९ बजे प्रशारण गरिने शोका लागि अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धी छनोट भैसकेका छन् । पहिलो सिजनमा निलम गुरुङ विजेता बनेकी थिइन् । ‘द पोएट आइडल’को पुरस्कार राशी १० लाख रुपैयाँ छ । साहित्यप्रति झुकाव हुने दर्शकले यो शो रुचाएका छन् ।