तीन ‘स्टार’ नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक फिल्म ‘पूजार सार्की’मा एकसाथ काम गर्दैछन् । यसैले निर्माण अगावै फिल्मको चर्चा उत्कर्षमा छ । फिल्मले व्यावसायिक रेकर्ड बनाउन सक्ने प्रक्षेपण पनि सुरु भएको छ । यो निर्माण टिमका लागि भने ठूलो चुनौती हो । ‘स्टारकास्ट’का कारण फिल्मप्रति चुलिएको अपेक्षामा खरो उत्रिनुपर्ने दबाब निर्माण टिममा छ ।
दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्मको दुई हप्तादेखि वर्कसप भइरहेको छ । वर्कसपमा चरित्र निर्माण, स्क्रिप्ट, प्रोडक्सन डिजाइन, कस्ट्यूम लगायतका विभिन्न विषयमा गहन छलफल हुने गर्दछ । यसैले फिल्म निर्माणको एउटा महत्त्वपूर्ण पाटोको रुपमा वर्कसपलाई लिइन्छ । तर, ‘पूजार सार्की’को वर्कसपमा आर्यन र प्रदीप दत्तचित्त देखिँदा पललाई भने महोत्सवमा भ्याइनभ्याइ छ ।
पल वर्कसपमा बस्दै नबसेका भने होइनन् । यद्यपि, आर्यन र प्रदीप जसरी उनी वर्कसपमा केन्द्रित छैनन् । जसले गर्दा निर्माण टिम उनीसँग रुष्ट हुँदै गएको गाइँगुइँ सुनिन थालेको छ । पलले वर्कसप छाडेर यही माघ ५ गते गेरुवा महोत्सव, माघ ६ गते घोडाघोडी महोत्सव, माघ ७ गते सल्यान महोत्सव, माघ ८ गते राप्ति महोत्सव र माघ ९ गते टीकापूर महोत्सवमा सहभागी भइसकेका छन् ।
जेल जीवनपछि पलको मेला-महोत्सवहरुमा माग बढेको छ । र, महोत्सवहरुमा उनको क्रेज पनि लोभलाग्दो देखिएको छ । अहिले उनले एउटा महोत्सवमा सहभागी भएबापत ५ लाखसम्म पारिश्रमिक लिने गरेको बताइन्छ । यसैले उनका लागि फिल्मभन्दा प्यारो महोत्सव भइरहेको हो । आफूले खेलेका म्यूजिक भिडियोहरु चल्न छाडेपछि उनले महोत्सवलाई आम्दानीको स्रोत बनाएका छन् ।
‘पूजार सार्की’को पलबिना पनि वर्कसप भने जारी छ । बुधबार फिल्मकी अभिनेत्री अञ्जना बराइलीले इन्स्टाग्राममा पोस्ट गरेको एक भिडियोमा निर्देशक राउतसहित आर्यन, प्रदीप र अभिनेत्री परीक्षा लिम्बू स्क्रिप्टमा घोत्लिएको देखिन्छ । पलले वर्कसपलाई महत्त्व नदिनुमा उनको भूमिका प्रभावशाली नभएर हुनसक्ने चर्चा पनि भइरहेको छ । अब यसका लागि त फिल्म पर्खिनुको विकल्प छैन ।