धेरै नेपाली फिल्ममा सहायक निर्देशक भएर काम गरेका विनयराज पौडेलले अब आफैं निर्देशनको जिम्मेवारी सम्हाल्ने भएका छन् । उनको डेब्यू निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्न लागेको हो । बिहीबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको छ । पोस्टरमा एक पात्रले शरीर पछाडि खुकुरी लिएर उभिएको देखिन्छ । यसले फिल्म एक्सन प्रधान रहने संकेत गर्छ ।
क्षित बाबु प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको आगामी बैशाखबाट छायांकन सुरु गरिने निर्देशक पौडेलले बताए । फिल्मका लागि यतिबेला कलाकार छनोटको प्रक्रिया भैरहेको छ । फिल्ममा नाम चलेका कलाकार रहने जनाइएको छ । पुस्कर राउत प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल छन् । फिल्ममा निर्देशक पौडेल स्वयंको लेखन छ ।
विनयराजले ‘बिहे पास’, ‘पोइ पर्यो काले’, ‘लभ यू हमेशा’, ‘के म तिम्रो साथी बन्न सक्छु’ लगायत तीन दर्जन बढी फिल्ममा सहायक निर्देशक भएर काम गरिसकेका छन् । उनीसँग सिरियल निर्देशनको पनि अनुभव छ । ‘आम नागरिक’लाई समसामयिक विषयमा बनाउन लागेको उनी बताउँछन् । फिल्मको कथा सशक्त रहेकाले त्यसलाई पर्दामा उतार्न कुनै कसर नछाड्ने उनको अठोट छ ।