अभिनेत्री रेजिना उप्रेतीले ९ वर्षको अन्तरालपछि फिल्ममा कमब्याक गर्ने भएकी छन् । शंकर कोइरालाको निर्देशनमा बन्न लागेको फिल्म ‘मोदीबेनी’बाट उनले कमब्याक गर्ने निश्चित भएको हो । पछिल्लोपटक फिल्म ‘बरदान’मा मुख्य भूमिकामा देखिएकी उनी चलचित्र कलाकार संघमा दुई कार्यकाल उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष थिइन् । उनी कमब्याकलाई लिएर उत्साहित देखिएकी छन् ।
यसैगरी, ‘मोदीबेनी’बाट अभिनेताको रुपमा अमर प्रताप श्रेष्ठले डेब्यू गर्ने भएका छन् । केही विज्ञापन र ‘प्रितको रित’ वेब सिरिजमा काम गरिसकेका उनले ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा दुईवटा नाटकमा समेत अभिनय गरेका छन् । फिल्ममा अमरको जोडी भने केकी अधिकारीसँग बाँधिन सक्नेछ । केकी फिल्ममा काम गर्न सकारात्मक भए पनि कागजी सम्झौता भइसकेको छैन ।
यतिबेला कार्यशालामा रहेको फिल्ममा सरोज खनाल, कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, दीलीप केसी, स्नेह भट्टराई, अनामिका लामिछाने, लाबिस लगायतको पनि अभिनय रहनेछ । अन्य कलाकार अडिसनबाट छनोट गरिने निर्देशक कोइरालाले बताए । निकट स्रोतका अनुसार, फिल्ममा रेजिनाले आमाको भूमिका निर्वाह गर्नेछिन् । उनको जोडी दीलिप केसीसँग बाँधिनेछ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘मोदीबेनी’मा आनन्द बिक्रम क्षेत्रीको लेखन छ भने दीलिप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्मातामा छन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने फिल्मले पर्वत जिल्लाको धार्मिक क्षेत्र मोदीबेनीको कथा भन्नेछ । फिल्मलाई उत्सव दाहालले छायांकन गर्नेछन् । यही माघ १६ गतेदेखि फिल्मको छायांकन हुनेछ ।