१५ वर्ष फिल्म निर्माणको अनुभवपछि कृषा चौलागाईंले ‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । अब उनी अर्को नयाँ फिल्म निर्देशनको तयारीमा जुटेकी छन् । यही माघ अन्तिम साताबाट छायांकन गर्न लागिएको फिल्मका लागि यतिबेला कृषा छायाँकार पुरुषोत्तम प्रधान, लेखक प्रदीप भारद्वाज र अभिनेता प्रमोद अग्रहरीको साथमा तराईका विभिन्न ठाउँमा ‘लोकेशन’ हेरिरहेकी छन् ।
‘पिताम्बर’ शीर्षक तय गरिएको फिल्मको दुई चरणमा छायांकन हुनेछ । केही दृश्य हुस्सुमा खिच्नुपर्ने भएकाले माघमा छायांकनको तयारी गरिएको हो । दोस्रो चरणको छायांकन भने फागुनपछि अर्थात् गर्मीयाममा गरिने जनाइएको छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा निर्देशक कृषा स्वयंको निर्माण रहनेछ । फिल्मका लागि अडिसनबाट केही बाल कलाकार छनोट भैसकेका छन् ।
कृषा ‘पिताम्बर’मा कलाकारको ‘लाइनअप’ बलियो बनाउने सोचमा देखिएकी छन् । त्यसका लागि उनले अहिलेका ‘स्टार’ नायक-नायिकालाई फिल्म अफर गरेकी छन् । केहीबाट ‘ग्रीन सिग्नल’ पनि मिलेको छ । काठमाडौं फर्किएपछि कृषा कलाकारहरुसँग कागजी सम्झौता गर्ने तयारीमा छिन् । प्रमोद अग्रहरी र कामेश्वर चौरासिया भने मुख्य भूमिकामा अनुबन्ध भैसकेको जनाइएको छ ।