मल्टीस्टारर फिल्म ‘रङ्गेली’ आगामी फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउने तयारीमा छ । टिजर र पोस्टर सार्वजनिक भैसकेको फिल्मको केही प्रतिशत छायांकन भने अभिनेता सौगात मल्लको पखाईमा रोकिएको थियो । उनी काम गर्न सकारात्मक पनि थिए । तर, माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारका कारण उनले फिल्मलाई समय दिन सकेनन् ।
सौगातले नभ्याएपछि उनको ठाउँमा निर्माण टिमले अभिनेता आर्यन सिग्देललाई भित्रिएको छ । अघिल्लो हप्ता काठमाडौंमा उनको भागको छायांकन पनि भैसकेको छ । फिल्ममा उनको भूमिकाबारे कुनै जानकारी प्राप्त भएको छैन । यद्यपि, फिल्म ग्याङस्टार जनरामा निर्माण भएकाले आर्यनको भूमिका पनि ग्याङस्टार हुनसक्ने आँकलन गरिएको छ । फिल्ममा आर्यनको केमियो मात्र छ ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका छ । बलियो ‘स्टारकास्ट’का कारण फिल्मले घरेलू बक्स अफिसमा सुखद् अंक जोड्ने प्रक्षेपण गरिएको छ । फिल्मका कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् । सुशन प्रजापतिले फिल्मको छायांकन गरेका हुन् ।
आर्यनको कामको कुरा गर्दा उनी यही माघबाट दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’को छायांकनमा व्यस्त हुँदैछन् । अर्को वर्ष निर्देशक राउतको अर्को फिल्म ‘गाउँ नै रमाइलो’मा पनि उनी काम गर्ने तयारीमा छन् । उनको पाइपलाइनमा अरु दुई फिल्म ‘दौँतरी’ र ‘सञ्जीवनी’ पनि छ । तर, केही वर्षयता फिल्मको श्रृंखलाबद्ध असफलताले उनको करिअर संकटमा छ ।