पछिल्ला वर्षमा भारतमा साउथ फिल्मको दबदबा देखिएको छ । कुनै बेला बलिउडको छायाँमा परेको साउथ अहिले बलिउडमाथि नै हाबी भइरहेको छ । मेकिङदेखि दृश्यभाषासम्ममा साउथ फिल्म अब्बल बन्दै गएका छन् । र, कमाईमा पनि एकसेएक रेकर्ड बनाउन सफल छन् । केही साउथ फिल्मले बनाएको बक्स अफिस रेकर्ड तोड्न बलिउडलाई समेत ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ ।
सर्वाधिक कमाई गर्ने साउथ फिल्मको सूचीमा ‘बाहुबली २’ अग्रस्थानमा छ । एसएस राजामौली निर्देशित यो फिल्मले विश्वव्यापी १८ सय १० करोड कमाएको छ । दोस्रो स्थानमा पनि राजामौलीको फिल्म ‘आरआरआर’ छ, जसको विश्वभर कमाई १२ सय ३६ करोड छ । यस्तै, यश स्टारर फिल्म ‘केजीएफ २’ले तेस्रो स्थान सुरक्षित गरेको छ, जसको विश्वव्यापी कमाई १२ सय करोड हाराहारी छ ।
सर्वाधिक कमाउने साउथ फिल्मको चौंथो स्थान भने प्रभास अभिनीत फिल्म ‘सलार’ले बनाएको छ । भारतीय मिडियाका अनुसार, फिल्मले विश्वभरबाट ७ सय करोड जोडिसकेको छ । त्यसैगरी, ६ सय ९९ सय करोड कमाउँदै पाँचौं स्थानमा रजनीकान्त अभिनीत फिल्म ‘रोबोट : २.०’ छ । एसएस राजामौलीद्वारा निर्देशित फिल्म ‘बाहुबली’ भने ६ सय ५० करोड कमाईसहित छैटौं स्थानमा छ ।
विश्वव्यापी ६ सय २० करोड कमाई गर्दै सातौं स्थानमा विजय अभिनीत फिल्म ‘लीयो’ रहँदा रजनीकान्त स्टारर फिल्म ‘जेलर’ ६ सय ७ करोडको साथमा आठौं स्थानमा छ । त्यस्तै, ५ सय करोड कमाउँदै ‘पोन्निन सेल्वान’ले नवौं स्थान सुरक्षित गर्दा ५ सय करोड नै अंक जोडेर कमल हसन स्टारर फिल्म ‘विक्रम’ दशौं नम्बरमा छ । ‘साहो’, ‘कान्तारा’, ‘पुष्पा’ आदि फिल्मको कमाई पनि उच्च छ ।