चर्चा र विवादको पर्याय बनेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई गायनमा विशेष रुचि राख्छन् । अक्सर उनी गितार बजाउँदै गीत गाएको अंश सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् । अब उनलाई फिल्ममा पनि देख्न पाइने भएको छ । फिल्म ‘खजुरे ब्रो’बाट उनले अभिनयमा डेब्यु गरेका छन् । शनिबार उनको झण्डै एक मिनेट लामो दृश्य फिल्मांकन गरिएको छ ।
फिल्ममा साम्पाङ धरानकै मेयरको भूमिकामा देखिनेछन् । धरानको एक पात्रमा आधारित भएर फिल्म बनेकाले उनलाई अभिनय गराइएको हो । कार्यकारी निर्माता डायमण्ड उप्रेती भन्छन्, ‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको भूमिका अवश्य रहन्छ । फिल्ममा मेयर साम्पाङ विशेष भूमिकामा देखिनु हुनेछ ।’
‘लाइट कमेडी’ विधामा आधारित यस फिल्ममा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नविन मानन्धर, प्रकाश भुजेल, सुष्मा निरौला, पुस्कर कार्की, विनिता थापा मगर, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतको अभिनय छ । यो नीतिको डेब्यू फिल्म हो । शिशिर बिसंखेको छायांकन रहेको ‘खजुरे ब्रो’का निर्देशक सुरज सुनुवार हुन् । उनले यसअघि फिल्म ‘षडङ्ग’ निर्देशन गरेका थिए ।