लगालग फिल्म सम्झौता गर्दा यतिबेला अभिनेता दयाहाङ राईलाई भ्याइनभ्याइको अवस्था छ । यसै साता फिल्म ‘डिग्री माइला’को छायांकन सकेर अर्को फिल्म ‘भूठान’का लागि अमेरिका पुगेका उनी नेपाल आएपछि ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको नयाँ फिल्म ‘मनसरा’को छायांकनमा जोडिनुपर्नेछ । यतिबेला उनीबाहेकको सिन २० दिनदेखि ललितपुरको नख्खीपोट आसपासमा खिचिँदैछ ।
अहिले मिरुना, मेनुका प्रधान र प्रविण खतिवडाका दृश्यहरुको छायांकन भैरहेको निर्देशक सुब्बाले जानकारी दिए । दयाहाङ माघ २०-२२ गतेसम्ममा नेपाल फर्किएर फिल्मको छायांकनमा जोडिने उनले बताए । दयाहाङ आएपछि फिल्मको छायांकन नख्खीपोट र पाँचथरमा १० दिनसम्म चल्नेछ । निर्देशक सुब्बाले जाडोको मौसममा पनि छायांकन निकै राम्रोसँग भैरहेकोमा खुसी व्यक्त गरे ।
फिल्मको निर्माणमा उपेन्द्र सुब्बा र छायाँकार शैलेन्द्र ध्वज कार्कीले सहकार्य गरेका छन् । ‘जारी’ले जस्तै ‘मनसरा’ले पनि अर्गानिक कथा पस्किएको निर्माता कार्कीको दाबी छ । निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्मको आगामी बैशाख २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको छ । प्रदर्शनका लागि जम्मा तीन महिना बाँकी रहेकाले निर्माण टिममा छायांकन सक्ने चटारो देखिन्छ ।
‘मनसरा’को सह-निर्मातामा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ छन् भने सिजन दाहाल कार्यकारी निर्माता हुन् । फिल्ममा निमेश श्रेष्ठको सम्पादन तथा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहनेछ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको कला निर्देशन छ । किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक हुन् ।