अभिनेता रमित ढुंगानाले पहिलोपटक निर्देशन गर्न लागेको फिल्म ‘नमेटिने घाउ’मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनय गर्ने भएका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको शुभमुहूर्त गर्दै ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्ने जानकारी गराइयो । मुहूर्त समारोहमा ओलीले ‘एक्सन’ भन्दै एक दृश्यको निर्देशन समेत गरेका थिए ।
एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथामा बन्न लागेको फिल्ममा शिवम् अधिकारीको लेखन छ भने ओम सुनारले गीतमा संगीत भरेका छन् । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा प्रधानमन्त्री ओलीसँगै रमित ढुंगाना र सांसद् ज्ञानेन्द्र शाही पनि विशेष भूमिकामा देखिने जनाइएको छ । यही माघ अन्तिमबाट फिल्मको छायांकन सुरु हुनेछ ।
फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, मुस्कान खातुन, सिम्रन खड्का, रचना गौतम, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा आदिको अभिनय रहनेछ । एसिड आक्रामण जघन्य अपराध हो भन्ने सन्देश फिल्मबाट दिइने रमितले बताएका छन् ।
एसिड आक्रमण भएको ठाउँहरुमै फिल्म छायांकनको तयारी गरिएको छ । काठमाडौं, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगञ्ज र रौतहटको चन्द्रपुरमा फिल्मको छायांकन हुने जनाइएको छ । रमित ‘नमेटिने घाउ’लाई एसिड पीडितहरुको बायोपिक रहेको दाबी गर्छन् । विशेषगरी फिल्म एसिड आक्रमण पीडित मुस्कान खातुनको जीवनमा बढी केन्द्रित रहेको जानकारी प्राप्त छ ।