कुनै बेला घनिष्ट मानिएका पूजा शर्मा र पल शाहबीच अहिले हार्दिक सम्बन्ध छैन । फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुँदा पल जेलमा थिए । त्यसबेला पूजाले पललाई सम्झिँदै हल-हल पुगेर आँसु झारेकी थिइन् । फिल्मको व्यापारमा त्यसले राम्रै फाइदा गर्यो । पललाई भेट्न उनी धेरैपटक जेल पनि पुगिन् । तर, पल जेलबाट रिहापछि भने उनीहरु एकअर्कासँग टाढा बनिरहेको देखिन्छ ।
पल र पूजाबीच सम्बन्ध विग्रिएको चर्चाबीच उनीहरुको फेरि फिल्ममा जोडी बाँधिन लागेको जानकारी प्राप्त भएको छ । निर्देशक सुदर्शन थापाले उनीहरुलाई लिएर ‘म यस्तो गीत गाउँछु ३’ बनाउन लागेको स्रोत बताउँछ । पल र पूजाले पनि काम गर्ने सहमति जनाइसकेको स्रोतको दाबी छ । त्यसो त यसका अघिल्ला दुईवटै श्रृंखलामा उनीहरुले जोडी भएर एकसाथ काम गरिसकेका छन् ।
‘म यस्तो गीत गाउँछु ३’मा सहकार्य हुने भएपछि पल र पूजा एकअर्कासँग फेरि नजिक बन्ने प्रयास गरिरहेको बताइन्छ । आइतबार पूजाले पलको अभिनय रहने फिल्म ‘पूजार सार्की’को पोस्टर सेअर गदै ‘मनपर्ने हिरो’ भन्दै प्रशंसा गर्नुले पनि उनीहरुको सम्बन्ध सुधारउन्मुख रहेको बुझाउँछ । पल र पूजाको निर्देशक थापासँग भने सुमधुर सम्बन्ध छ । दुवैको करिअर बचाउने नै सुदर्शन हुन् ।
‘प्रेमगीत’ जोडी प्रदीप खड्का र पूजालाई पनि फेरि एकपटक पर्दामा उतार्ने सोचमा निर्देशक थापा रहेको चर्चा छ । प्रदीपले अर्को वर्ष सुदर्शनको एउटा फिल्म काम गर्दैछन् । सम्भवतः त्यही फिल्ममा उनको पूजासँग सहकार्य हुने सम्भावना प्रवल छ । यो जोडी पुनः पर्दामा देखिँदा दर्शकका लागि पनि ठूलो ‘सरप्राइज’ हुनेछ । पल-पूजा र प्रदीप-पूजा नेपाली फिल्मका रुचाइएका जोडी हुन् ।